
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पर्सामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेपाल समूहले बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय समानान्तर जिल्ला कमिटी गरेको हो ।
वीरगञ्जमा आयोजित भेलालाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताउनुभयो । नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझ आएको जिकिर गर्नुभयो ।
‘कतिपयलाई म केपी ओलीको प्रधानमन्त्री पद खोस्न लागिपरेको भन्ने लागेको होला,’ उहाँले भन्नुभयो, ‘ओली नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन ।’ ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि भएको नेता नेपालको भनाइ थियो ।
नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको भन्दै उहाँले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेकाले ओलीले बैठकको सामना गर्न नसकेर भाग्ने गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिष्टहरुले ७० वर्षसम्म गरेको त्याग तपस्या, बलिदानलाई तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्