
डोलराज रानाभाट
चितवन । नेपालमा गैँडाको संख्यामा वृद्धि भएको छ । चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सम्पन्न गरी शनिबार नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार नेपालमा गैँडाको सख्या ७ सय ५२ पुगेको छ । यस अघि सन् २०१५ मा भएको गणनका क्रममा ६ सय ४५ गैँडा फेला परेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दीया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा भेटिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जानकारी दिनुभयो ।

सन् २०१५ को गणनामा चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गरी जम्मा ६ सय ४५ गैँडा भेटिएका थिए । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना यो वर्ष ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैँडा गणनामा खटिएका थिए ।
नेपालमा सन् १९५० मा ८ सय, १९५५ मा ४ सय, १९६० मा ३ सय, १९६५ मा १ सय, १९७० मा १ सय ८, १९७५ मा १ सय ४७, १९८० मा ३ सय १०, १९८५ मा ३ सय १०, १९९० मा ३ सय ५८ र १९९५ मा ४ सय ६६ गैँडा रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्