
-हरिविनोद अधिकारी
विजया दशमी भनेर हामीले नेपालीहरुको सामाजिक पर्व दसैँलाई सम्झन्छौँ । दसैँ र विजया दशमी पर्यायवाची शब्द हुन् जस्तै छ । दसैँ शब्द नै दशमीको लोकशब्द हो । नेपाली चलनचल्तीको पात्रोका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म नवदुर्गाको पूजाआजा र प्रसाद ग्रहणको समय हो । लोक परम्पराअनुसार टीका टालो कतै दशमीका दिनमात्र लगाइन्छ त कतै पूर्णिमासम्म नै लगाइन्छ । यसलाई कुल परम्परा र आवश्यकताको आधारमा मनाउने गरिन्छ ।
खासमा नेपालमा मात्र वा नेपालीहरुले मात्र देवीको प्रसादस्वरुप फूल नलगाई जमरा लगाउँदै दही र अबिरमा चामल राखेर टीका लगाउने चलन देखिन्छ । अब त नेपालीहरु संसारको जुनसुकै कुनामा पुगे पनि यो सामाजिक पर्व हर्षोल्लासका साथ मनाइन्छ । यो पनि स्थिति र आवश्यकताको आधारमा कसरी मनाउने भन्ने पनि निर्धारण गरिने चलन आएको छ । तर आफूभन्दा मान्यजनबाट देवीको आराधनापश्चात् प्रसाद ग्रहण गर्दा टीका लगाएर मान्यजनबाट आशीर्वाद लिने चलन अहिले पनि यथावत् छ । माता पिता काका काकी , दाजु भाउजु,मामा, माइजु, हजुरबा हजुरआमा, गुरु, गुरुआमा, सासु ससुरा जस्तै निकट मान्यजनको हातबाट टीका लगाएर आफूलाई सामाजिकरुपमा अद्यावधिक गर्ने चलन हो । अझ हिन्दु तथा बौद्ध धर्मावलम्बी नेपालीहरुका लागि त यो दसैँ भनेको परिवारसँग भेटघाट , मिलन र पुनर्मिलनको समय हो ।
विजया दशमी भन्ने शब्दले नै विजय प्राप्त गर्ने सुअवसरका लागि माता नवदुर्गासँग शक्ति प्राप्त गरी आफूलाई अप्ठेरो परेको विषयमा विजय प्राप्त गर्नका लागि सुरु गर्ने समय हो भनिँदै आएको छ । भगवान रामले रावण विजय गर्नका लागि देवीसँग शक्ति प्राप्त गर्न नौ दिनसम्म गहन आराधना गरी देवीबाट विजयी हुने आशीर्वाद पाएकाले नै रावणसँगको युद्धमा विजय प्राप्त सम्भव भएको लोक भनाइ छ । यस्तैगरी पाण्डवहरुले पनि कौरबसँग युद्ध गर्नका लागि नवदुर्गालाई प्रसन्न पारेर आशीर्वाद पाएपछि मात्र युद्धको घोषणा गर्ने हिम्मत आएको पनि लोकोक्ति छ । मार्कण्डेय पुराणका अनुसार सुरथ नामका राजाले पनि देवीको आराधना गरेर आफ्नो गुमेको राज्य फिर्ता पाएको कथा छ । यस्तै देवी महात्म्य अपरम्पार छ भनेर नेपालमा र भारतमा धेरै शक्तिपीठहरुको यसैबेलामा पूजा अर्चना गरिन्छ । अर्थात् अदृश्य शक्तिको आराधनाबाट पाइने उर्जाले जीवनमा हिम्मत दिन्छ र आँटेको काम पूरा गर्ने अठोट सफल हुन्छ ।
असुर र सुर एउटै पिताका सन्तान हुन् । दितिका सन्तान दैत्य र अदितिका सन्तान अदैत्य वा देवता हुन् भनिएको छ । कलुषित भावना , अहङ्कार, द्वेष, आडम्बर र दम्भ नै असुरका लक्षण हुन् भने शान्त जीवन, निर्मोही भाव अनि सबैको कल्याण गर्ने भावना नै सुरका लक्षण हुन् भनिएको छ । हामी एकातिर राजनीतिक समस्या समाधान गरेको मान्छौँ र अब आर्थिक तथा सामाजिक रुपान्तरणको कामलाई तीब्रता दिनुपर्नेमा जोड दिन्छौँ भने अर्कोतिर मुलुक भ्रष्टाचार र अनाचारबाट व्याप्त भएको तर्कनामा बिलखबन्धनमा परेका छौँ । हाम्रो शत्रु भनेको अहिले तिनै हुन् जसले नेपाली समाजमा गरिबी, भ्रष्टाचार, बेथिती, अशिक्षा, अन्धविश्वासको रुपमा जरो गाडेका छन् । माता नवदुर्गासँग हामीले माग्ने वर भनेको त्यस्तो गलत कामको भन्डाफोर गरेर समाजलाई सभ्य दिशातिर डोर्याउन सकियोस् । माता भवानीसँग यसपटक यही वर मागौँ , विजया दशमीको उपलक्ष्यमा यही प्रण गरौँ हामी अब गलतको गलत भन्ने सँस्कृति बसाल्न तयार हुन सकौँ ।
२००७ साल वरिपरि स्वतन्त्र हुने विश्वका अन्य मुलुकहरुले आफूलाई भ्रष्टाचारबाट बाहिर ल्याएर मुलुकलाई विकसित राज्यको रुपमा पु¥याएका छन् । हामी यो मेरो, यो तेरो भनेर निजी स्वार्थमा रुमलिएर मुलुकलाई झनझन दलदलमा फसाइरहेका छौँ । हालैका केही प्रतिनिधि घटनाले पनि के देखाउँछ भने हामी नेपालीहरु प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका लागि त्याग गर्न हिम्मतिला छौँ तर प्रजातन्त्रका आवश्यक तत्वहरुको विकासमा उदासीन छौँ । अब त्यो उदासीपनलाई माता दुर्गाले निमिट्यान्न पार्नुहोस् र नेपालीहरु स्पष्टवक्ता छन् , दलभन्दा माथि उठेर मुलुकलाई माया गर्छन् र भ्रष्टाचार भन्ने रोगलाई निर्मूल पार्नका लागि कटिबद्ध छन् भन्ने पार्नुपर्छ । यसका लागि सबैले आफ्ना आफ्ना ठाउँबाट सक्दो योगदान दिनुपर्छ ।
सबैभन्दा पहिले त गलत तरिकाले कमाएको धनका विरुद्धमा अभियान नै चलाउनु पर्छ । त्यसको लागि अरुको होइन, आफ्ना आफ्ना दलहरुसम्बद्ध नेताहरुमा शुद्धीकरणको खाँचो छ । कुनै जागिर छैन, कमाउने आधिकारिक कुनै पेसा छैन, व्यवसाय छैन तर कसरी आयो त्यत्रो सम्पत्ति जसले गर्दा करोडौँको महल, करोडौँको गाडी, करोडौँ ब्याङ्क ब्यालेन्स । अनि कालो धनले गर्दा शुद्ध कमाइ गर्नेले समाजमा अपमानित हुनुपर्ने अवस्था आएको छ । तिनै कालो धनवालाहरुले राजनीतिलाई सञ्चालन गरेका छन् , नीतिका पहुँच पुर्याएका छन् र आफूलाई चोख्याउने नीति बनाउन सफल भएका छन् । यता नेपाली अखबारहरुका मुख्य समाचारहरुले त्यही कुराहरुलाई पुष्टि गरिरहेका छन् ।
राजनीतिमा फोहोर जम्मा भएको भनेको नै अपराधीहरु सरकारमा नागफणी उचालेर बसेका भनेको हो । सरकार भनेको सँसद पनि हो । कर्मचारी तन्त्र पनि हो । नाग।रक समाज पनि हो । उत्तरदायी व्यक्तिहरु सबै त्यसैमा पर्छन् । उदाहरणका लागि पूर्वमन्त्रीहरु कतिजना अहिले अपराधको मुद्दामा जेलमा छन्, हेरौँ । प्रहरीका कतिजना प्रमुखहरु र अधिकृतहरुलाई अख्तियारले मुद्दा चलाएको छ, हेरौँ । स्वयं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु नै भ्रष्टाचारको आरोपमा अदालत धाइरहेको कुरुप दृश्य हेरेर बस्नु परेको छ । अपराधीहरुमध्ये कतिजना कहाँ कहाँ छन् भन्ने कुरा करिब करिब सबैलाई थाहा छ । बोल बोल मछली मुखभरी पानी ।
यसपटकको दसैँमा भगवती दुर्गासँग यही आशीर्वाद मागौँ -हे माता, हामी नेपालीहरुलाई भयरहित समाजको रुपमा विकास गर्न र गलतलाई गलत भन्ने सँस्कृतिको निरन्तरता दिन हामीलाई वरदान दिनुहोस् । नेपाल रुपान्तरण हुनका लागि हामीमा नै चेतना आउनु पर्छ, हामी नै रुपान्तरित हुनुपर्छ । नवदुर्गा भवानीले हामी नेपालीहरुलाई चेतनायुक्त विवेकी बन्ने वरदान दिनुहोस् । यही शुभकामना सम्पूर्ण नेपालीहरुमा यसपटकको दसैँमा ।
प्रतिक्रिया दिनुहोस्