
-रत्न आचार्य/ईमेज
काठमाडौं । नौरथाको अवसरमा सुनसरीको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरमा रहेको दन्तकाली मन्दिरमा अहिले दर्शनार्थीको घुइँचो बढेको छ ।
घटस्थापनादेखि नवमीसम्म यहाँ विशेष मेला लाग्ने गर्दछ । पूर्वकै प्रसिद्ध शक्तिपीठमध्ये दन्तकाली मन्दिर पनि एक हो । नौरथा लागेसँगै भत्तजनहरु पुजा पाठ र बलिदिन यहाँ पुग्ने गरेका छन् ।
घटस्थापनादेखि नवमीसम्म यहाँ विशेष मेला लाग्ने गर्दछ । यो मन्दिर विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ ।
धरानबाट मात्र नभई धरान बाहिरबाट समेत हजारौं दर्शनार्थी मन्दिरमा आउने गरेको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भटटराई बताउँछन् ।
कालिकाको नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ ।
उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक राखेर पूजा गर्ने गरिएको दन्तकाली मन्दिरका पूजारी भवानीप्रसाद खतिवडा बताउँछन् ।
यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।
नेपाल एकीकरण पूर्व बिजयपुर राज्यका सेन वंशी राजाहरूको ईष्टदेवीको रूपमा यो मन्दिरमा पुजा गर्ने गरेको इतिहास छ ।
दन्तकालीको मन्दिर वि.सं. २०३५÷३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ ।
मनोकाँक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरु यहाँ दर्शन गर्न जाने गर्दछन् ।
सप्तमीका दिन यो मन्दिरमा फूलपाति भित्र्याएपछि विधिवत रुपमा दशैंको शुरुवात भएको मानिन्छ ।
नौरथाबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा विशेष मेला लाग्ने गर्दछ ।
दन्तकलीबाट धरानबजारको रमणीय दृश्यका साथै मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु समेत अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्