२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिस्केट जात्राको रथ तान्ने क्रममा ढुङ्गा हानाहान, १९ जना घाइते


0
Shares

काठमाडौं । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

आठ रात नौ दिनसम्म भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

हिजो शनिबार अपरान्ह ४ बजेदेखि रथ तान्न शुरु भएको थियो । अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु¥याइएको छ ।

यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो।