१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्ना देशमा उत्पादन भएका खोपको प्रभावकारिता कम भएको चीनद्वारा स्वीकार


0
Shares

एजेन्सी । चीनले आफ्नो देशमा उत्पादन भएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता कम भएको स्वीकारेको छ ।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूले खोपको प्रभावकारिता कम भएकाले प्रभावकारिता बढाउन अरू खोपसँग मिसाउनेबारे सोचिरहेको बताउनुभयो । उहाँले प्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा फरक प्रविधिबाट बनेका फरक खोप प्रयोग गर्नेबारे छलफल भइरहेको बताउनुभयो ।

विश्वभर खोपको प्रभावकारिता घटीबढी हुनु स्वभाविक भएको भन्दै फूले भिन्न प्रविधिका खोप लगाउने र दुई मात्राबीचको समय बढाउँदा यसको प्रभावकारिता बढाउन सकिने उल्लेख गर्नुभयो । चीनमा चार वटा कम्पनीले कोरोनाको खोप निर्माण गरेका छन् ।

यद्यपि अरु देशमा गरिएको परीक्षणमा यसको प्रभावकारिता ५० प्रतिशत भन्दा कम पाइएको छ । हालै मात्र ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोपको प्रभावकारिता ५० दशमलब ४ प्रतिशतमात्रै देखिएको थियो ।

चीनले आफ्नो देशमा उत्पादन भएका खोप लगाएका व्यक्तिलाई मात्र भिसा दिने जनाएको छ । करिब १६ करोड बढी चिनियाँले खोप लगाइसकेका छन् ।