१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणनाबाट थपिए १ सय ७ गैँडा, पर्याप्त बजेट र कर्मचारी थपिदिए संरक्षणमा चिन्ता लिनु नपर्ने भनाइ


0
Shares

डोलराज रानाभाट
चितवन । २०७७ चैत्र ९ गतेदेखि सुरु भएको गैँडा गणना भर्खरै सकिएको छ । गणनाका क्रममा बर्दिया हात्तीसारका कर्मचारी पुलिसराम थारुको मृत्यु भयो भने चितवन राष्ट्रिय निकुञ्जमा ७ जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था अझै गम्भीर छ । यी दु:खद क्षण र कठिन परिस्थितिका बीच भएको गणनाले भने सुखद समाचार दिएको छ ।

अहिले भएको गणनामा देशभर १ सय ७ वटा थपिएर गैँडाकाे संख्या ७ सय ५२ पुगेकाे छ । नेपालका गैँडा पाउने चारवटा राष्ट्रिय निकुञ्ज मध्ये पर्सामा बाहेक अन्य सबै निकुञ्जमा संख्या बढेको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जानकारी दिनुभयो । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैँडा रहेका छन् ।

गैडाको संख्या बढेसँगै गैँडा हेर्नकै लागि चितवनको सौराहामा आउने पर्यटक अझै बढ्ने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईको विश्वास छ । गैँडाको संख्यामा भएको वृद्धिले खुसी भएका भट्टराई याे संख्यालाई कायम राख्दै थप योजनाका साथ अघि बढ्नुपर्ने बताउनुहुन्छ ।

संरक्षणमा स्थानीय सरकारको चासो पनि कम छैन । संख्या बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणमा जोड दिन सके मात्र गैँडाको संरक्षणमा स्थानीयको पनि सहभागिता बढ्ने रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनकाे भनाइ छ ।

देशभर ५७ वटा हात्तीको प्रयोग गरी ३ सय ५० जनशक्तिले १ करोड ४० लाख रुपैयाँ खर्चमा गैँडा गणना सम्पन्न गरेकाे हाे । गणनाबाट आएको नतिजालाई शुक्ष्म ढंगले विश्लेषण गरी थप योजना बनाउनु आजकाे आवश्यकता भएकाे स्थानीयकाे भनाइ छ ।

गैँडा गणना हुँदै गर्दा अहिलेसम्म चितवनमा १ सय ६४ वटा गैँडा मरेका तथ्याङ्क सार्वजनिक भएकाे छ । जसमा ६ वटा चोरी तस्करीबाट मरेका हुन् भने बाँकी प्राकृतिक कारणले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा मात्रै गैँडाको आक्रमणबाट चितवनमा ३ जनाले ज्यान गुमाएका छन् । सोही समयमा २९ वटा गैँडा मरेका छन् । जसमध्ये चोरी सिकारीबाट ४ वटा गैँडा मरेकाे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउनुहुन्छ ।

आगामी दिनमा स्पष्ट योजना सहित पर्याप्त बजेट र कर्मचारी थप भए ‍गैँडा संरक्षणमा चिन्ता लिनु नपर्ने सराेकारवालाकाे भनाइ छ ।