
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा भएको कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार चौधरी ग्रुपले क्यानलाई वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ । यो रकम हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइ–वाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइ–वाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौतबाट नेपाली क्रिकेटले पुन उचाइ लिनेमा विश्वास व्यक्त गर्नुभयो ।
क्यान क्रिकेट निर्देशक विनोद दाशले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिनुभयो । यू–१९ महिला क्रिकेट टीमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्