
दिवस रिजाल
खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमस्थित साकेला माविका सह–प्रध्यानाध्यापक प्रकाश राईले गुण्डागर्दी शैलीमा विद्यार्थी दिपेन कार्कीमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत दौड प्रतियोगिता भइरहेको अवस्थामा शनिबार कार्कीमाथि कुटपिट भएको हो ।
सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी कार्की छात्रतर्फको एक हजार ५०० मिटर दौड प्रतियोगितामा सहभागी भएका थिए । कार्की दौडिरहेको अवस्थामा अन्य स्वयंसेवकले पछाडिबाट आएर उनलाई रोक्ने प्रयास गरेको भिडियोमा देखिन्छ । त्यसपश्चात उनलाई मुक्का हानिरहेको भिडियोमा देखिन्छ ।
सबैभन्दा अग्र पङ्तीमा रहेका उनलाई रोक्न सफल भए पश्चात शिक्षक राई लगायत अन्य शिक्षक र स्वयंसेवकले कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । साकेला मावि रतन्छा–२ को खेलमैदानमा भएको प्रतियोगितामा सहभागी विद्यार्थी कुट्ने शिक्षक उक्त खेलको खेल संयोजक समेत हुन् ।
विद्यार्थीले कुटाइ खाएपछि अन्य सहभागीले प्रतियोगिता एकपक्षीय गुण्डागर्दी शैलीमा सञ्चालन भएको भन्दै उक्त प्रतियोगितालाई बहिष्कार गरेका छन् । प्रतियोगिता बहिष्कार गरे पनि आयोजक राई र सह–आयोजक मिलेर एकपक्षीय ढङ्गमा कार्यक्रम सञ्चालन गरेको नेपाल विद्यार्थी सङ्घ खोटाङका उपाध्यक्ष जीवन खत्रीले जानकारी दिए ।
यता, नेपाल विद्यार्थी सङ्घले सोमबार उक्त घटनालाई लिएर प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकार्षण भएको जनाएको छ । विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । घटनालाई दबाउन वा लुकाउन खोजे नेवि सङ्घ कडा प्रतिरोधमा उत्रिने विज्ञप्तिमा उल्लेख छ ।
शिक्षक राईले कपाल समातेर दुर्व्यवहार गरेलगत्तै पुलिसको टोलीले छुट्याएको रतन्छाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । कपाल समाति अगाडि बढ्न नदिएको तर, कुट्न नपाएको उहाँको भनाइ छ ।
दौड प्रतियोगितामा दौडँदै गर्दा खेल संयोजक राई र आयोजकहरू मिलेर कुटपिट गरेको पीडित विद्यार्थी कार्कीले बताउनुभयो । निधारमा फोको परेको, गाला सुन्निरहेको तथा हाल टाउको दुख्ने, रिंगटा लाग्ने समस्या भइरहेको पीडित कार्कीको भनाइ छ । सबैभन्दा अगाडि दौडिरहेको बेला खेल जित्छ भन्ने लागेर आफूमाथि कुटपिट गरेको उनको तर्क छ ।
घटनाको विषयमा जानकारी लिन शिक्षक राईको मोबाइलमा सम्पर्क गर्दा उहाँको फोन उठेन । उक्त घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।
प्रतिक्रिया दिनुहोस्