१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सीमामा छैन सतर्कता : संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव (भिडियोसहित)


13
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर । नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक तीन हजार बढी नेपालीहरु घर फर्किने गरेका छन् । उनीहरुमध्ये अधिकांश नयाँ वर्ष मनाउन घर फर्किएका हुन् भने कतिपय गहुँ बाली भित्र्याउन घर फर्किएको बताउँछन् ।

भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँैं मनाउन नेपाली घर फर्किने क्रम बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ । जोखिम कम गर्न स्वास्थ्य कार्यालयले भारतको दिल्ली, महाराष्ट्र, पन्जाब लगायतका जोखिमयुक्त ठाउँबाट भित्रिएकालाई एन्टीजेन परीक्षणपछि मात्रै नेपाल प्रवेश गराइएको छ ।

चैत्र १७ गते यता दुई साताभित्र ४ सय ६० जनामा संक्रमण देखिएको छ । सरकारले भारतबाट भित्रिनेहरुको सम्भव भएसम्म एन्टीजेन परीक्षण गर्न निर्देशन दिएपनि प्रयाप्त मात्रामा एन्टीजेन नहुँदा स्वास्थ्य परीक्षणमा समस्या भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारको भनाइ छ ।

उता, दिनदिनै कोरोना संक्रमितको संख्या बढे्दै गएपछि उनीहरुलाई राख्नका लागि अस्पतालमा समेत ठाउँको अभाव हुन थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा मात्रै ६५ जनामा संक्रमण पुष्टि भएकोमा २३ जनाको पीसीआर पोजेटिभ देखिएको हो भने अन्यको एन्टिजेन परीक्षणमा पोजेटीभ देखिएको हो ।

जसमध्ये नाकामा पोजेटीभ देखिएकाहरुलाई सेती तथा महाकाली अस्पतालमा राख्ने व्यवस्था मिलाइएको छ भने केही संक्रमित होम आइसोलेशनमा बसेका छन् । तर पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएकाले अस्पतालहरुमा आइसोलेशनको अभाव हुन थालेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो बताउनुहुन्छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नाकामा कडाई गर्नुका साथै भित्रिनेहरुलाई आईसोलेसन तथा क्वारेन्टीनको उचित व्यवस्था गर्नु जरुरी देखिन्छ ।