१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य भट्टराईसहित २८ मजदुर पक्राउ


0
Shares

चितवन, साउन ९ । चितवन प्रहरीले नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराईसहित २८ जना मजदुरहरुलाई पक्राउ गरेको छ ।

बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनलचोकमा भएको झडपमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालले केन्द्रीय सदस्य भट्टराईकै नेतृत्वमा आन्दोलन भएकाले उनलाई पक्राउ गरिएको बताए ।

भट्टराईलाई जिल्ला प्रशासन कार्यालयअगाडिबाट पक्राउ गरिएको जनाइएको छ ।

भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा अटो र इ–रिक्सालाई चल्न नदिने निर्णय गरेपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

सोक्रममा प्रदर्शनकारीले बुधबार जिल्ला प्रशासन कार्यालयनजिकै रहेको प्रहरी बिटमा तोडफोड गर्नुका साथै नजिकै रहेको एउटा मोटरसाइकलमा आगजनी गरेका थिए । प्रदर्शनकारीले कार र म्याजिकमासमेत तोडफोड गरेका थिए ।

भीड नियन्त्रण गर्नेक्रममा प्रहरीले गोलीसमेत चलाएको थियो । गोली लागेर अटो रिक्साचालक महेन्द्र सुनार घाइते भएका छन् ।

झडपकाक्रममा पाँचजना प्रहरीजवान र केही अरु प्रदर्शनकारीसमेत घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्ग र सहरी क्षेत्रमा सन्चालन गर्न रोक लगाउने निर्णय गरेको थियो ।