१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन अमेरिकामा रोक


0
Shares

एजेन्सी । अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने क्रम रोक्ने भएको छ ।

खोप लगाएका केही मानिसहरूमा रगत जम्ने समस्या देखिएकाले अमेरिकी अधिकारीहरूले जे एण्ड जे कोरोना खोप लगाउन तत्काका लागि रोक लगाउने भएका हुन् ।

जे एण्ड जे को खोप लगाएका ६८ लाखमध्ये ६ जनामा गम्भीर किसिमको रगत जम्ने समस्या देखिएको भन्दै तत्कालका लागि उक्त खोपको प्रयोग रोक्न आदेश दिइएको अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभागले जनाएको छ ।

विभागले रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई रगत जम्ने समस्या देखिएकाहरूको विषयमा अनुसन्धान गर्न पनि भनेको छ । रगत जम्ने समस्याकाहरूलाई विशेष किसिमको उपचार आवश्यक पर्ने देखिएको सीएनएनले जनाएको छ ।

१८ देखि ४८ वर्ष उमेर समूहका महिलाहरूमा खोप लगाएको १२–१३ दिनपछि त्यस्तो समस्या देखिएको समाचारमा उल्लेख छ । भारतमा निर्मित एस्ट्राजेनेकाको खोप कोभिसिल्ड लगाएका केही मानिसमा पनि यस्तै समस्या आएपछि युरोपेली देशहरूले उक्त खोप केही समय रोकेर पुनः प्रयोगमा ल्याएका छन् ।