१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ पछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता बोलाउने बताउनुभएको छ ।

राष्ट्रपति बाइडेनले आफ्ना सेना फिर्ता बोलाउनेबारे चाँडै नै घोषणा गर्ने बीबीसीले जनाएको छ ।

गत वर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेना फिर्ता बोलाउन तालिवानीहरुसँग सहमति गर्नुभएको थियो ।

सन् २००१ मा अमेरिकाको विश्व व्यापार केन्द्र र पेन्टागनमा भएको आतंकवादी हमलाको २०औं वार्षिकीसँगै अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको घोषणा हुने अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति बाइडेनले यसअघि मे १ मा ओरिकी सेना फिर्ता बोलाउने बताइएपनि त्यसको मिति केही पछि धकेलिएको हो ।

कट्टरपन्थी इस्लामिकहरुको आन्दोलनमा तालिवानीहरुले हिंसात्मक गतिविधि कम नगरेको भन्दै अमेरिकी र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का अधिकारीहरुले पूर्व प्रतिवद्धताअनुसार शान्ति कायम गर्न आग्रह गरेका छन् ।

अफगानिस्तानमा शान्तिका लागि तालिवानीहरुलाई एक वर्षको समयसीमा दिइएको छ ।

उसलाई एक वर्षभित्र आफ्ना सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर मूलधारको राजनीतिमा आउन अमेरिकाले चेतावनी दिएको बताइएको छ ।

यता विद्रोहीहरुले भने अमेरिकाले यसअघि पटक पटक गरेका प्रतिवद्धता पूरा नगरेकाले यो निर्णयप्रति पनि तत्कालै विस्वस्त हुन नसक्ने प्रतिक्रिया दिएको छ ।

अमेरिकी सेना फिर्ताको मिति अझै औपचारिक रुपमा तय भइनसकेकाले अफगान र तालिवानीहरुबीच हुने भनिएको वार्ताको अझै टुंगो लागेको छैन ।