१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा चिया टिप्ने हतारो, आफैँ मूल्य तोक्न नपाउँदा किसान दुःखी


0
Shares

प्रकाश नेपाल
इलाम । जिल्लाका चिया किसानलाई सिजनको पहिलो हरियो चिया पत्ति टिप्न भ्याइनभ्याइ छ । तर, चिया उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा भने किसान दुःखी छन् ।

वर्षौंदेखि यहाँका किसानले सिजनकै राम्रो पत्तिको मूल्य आफैँले तोक्न पाएका छैनन् । कारखानाले पत्ति लिएको लामो समयपछि मात्रै मूल्य निर्धारण गरिदिने गरेका कारण यहाँका किसानहरु ठँगिदै आएका छन् । किसानहरू संगठित हुँन नसक्दा लामो समयपछि कारखानाले आफूखुसी ज्याला दिने गरेको छ ।

कारखानाले जति दाम दियो त्यतिमै चित्त बुझाउनुपर्ने बाध्यता पनि छ । पहिल्यै पत्ति दिएपछि कारखानाले दिएको मूल्य किसानले स्वीकार्नुको विकल्प नै छैन । मुनाफा उद्योगीले कमाउँछ भने किसानले वर्षेनी चियाको बुट्टा–बुट्टामा परिश्रमको पसिना बगाउँदा उल्टै मारमा पर्ने गरेका छन् ।

चिया किसानको विषयमा स्पष्ट सरकरी नीति नहुँदा लागत अनुसार आफ्नो उत्पादनको मूल्य राख्न पाएका छैनन् । किसानहरूले भने कारखाना सञ्चालक उद्योगीले तोकेको मूल्यमा चित्त बुझाउनु परेको गुनासो गरेका छन् ।

कारखानाले सबै भन्दा बढी मूल्य दिने सिजनको पहिलो टिपाइको हरियो पत्तीको मूल्य निर्धारणको विषयमा किसानलाई पत्तो नै छैन । गत सालको जस्तै मूल्य पाउने आशामा कारखानालाई हरियो पत्ति बुझाइ रहेको चिया किसान कमल घिमिरेको भनाइ छ ।

सरकारले चियाको हरियो पत्तीको मूल्य अझै तोकिदिन सकेको छैन । भारतीय बजारको मूल्यको आधारमा हरियो पत्तिको मूल्य निर्धारण गर्नु पर्ने भएकोले सुरूमै दाम यकिन गर्न नसकिने कारखाना सञ्चालक उद्योगीहरूको प्रष्टोक्ति छ ।

गतवर्ष कारखानाले पहिलो टिपाइको हरियो पत्तिको मूल्य प्रतिकेजी ९० रुपैयाँदेखि बढीमा एक सय रुपैयाँमा बिक्री गरेका किसानले यो बर्ष पनि सोही मूल्यको अपेक्षा गरेका छन् । जिल्लामा झण्डै ४ करोड ५ लाख किलो बढी चिया उत्पादन हुने गरेको तथ्याङ्क छ ।

नेपालका ७७ जिल्लामध्ये १३ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डको भनाइ छ । त्यसैले चियामा रातोदिन खट्ने चिया किसानको मार्कालाई बेलैमा बुझेर सरकारले उचित निर्णय गर्ने पर्ने देखिन्छ ।