१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


प्यूठानमा कोरोनाले ल्याएकाे सकारात्मक परिवर्तन


13
Shares

राजेश जीसी
प्यूठान । कोरोना भाइरसका कारण विश्वको जनजीवन अझै प्रभावित छ । नोवेल कोरोना भाइरसका कारण करोडौं मानिस संक्रमित भए । लाखौंले ज्यान गुमाउनु प¥यो भने धेरै बेरोजगार हुनुपर्‍यो ।

धेरै नकरात्मक परिणाम देखिए पनि कोरोनाकै कारण मानिसकोे आनीबानीमा भने व्यापक परिर्वतन आएको देखिएको छ । कोरोना संक्रमणको डरले अपनाएको स्वास्थ्य सर्तकताका कारण अन्य सरुवा रोगहरूमा पनि कमी आएको प्यूठानका स्वास्थ्यविद्को भनाइ छ ।

गाम्रीण क्षेत्रमा कोरोनाको डरका कारण पटक–पटक साबुनपानीले मिचिमिचि हात धुनेको जनसंख्या त बढेकै छ भने दैनिकजसो मास्क लगाउने, सकेसम्म बाहिरको खाना नखाने र शुद्ध पानी पिउने बानी समेत सुधार भएको देखिन्छ ।

यसअघि यहि मौसममा जिल्लामा, रुघाखोकी, दम, निमोनिया, झाडाबान्ता, ज्वरो जस्ता सङ्क्रमण देखिने गरेको थियो । तर, कोरोनाको डरले मानिसहरूमा फेरिएको आनीबानीले यस्ता सङ्क्रामक रोगका समस्या लिएर आउनेहरू कम भएको जिल्ला अस्पताल प्यूठानका प्रमुख नबिन दर्लामी बताउनुहुन्छ ।

धेरै जसो सरुवा रोग आफ्नो आनीबानी, दुषित पानी र फोहोरका कारण लाग्ने गरेको छ । व्यक्तिगत तथा घरायसी सरसफाई र शौचालयको प्रयोगलाई आगामी दिनमा पनि नित्यकर्म कै रूपमा विकास गर्न सके यस्ता खालका रोगहरूबाट बच्न सकिने स्वास्थ्यविद्हरूको भनाइ छ । सरसफाई र खानपिनलाई ध्यान दिन सके सरुवा रोगहरूबाट बच्न सकिने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीको भनाइ छ ।

कोरोना भाइरसले मानिसमा नकरात्मक प्रभाव पारे पनि आनीबानीमा सकरात्मक परिर्वतन ल्याएको छ । कोरोनाकै कारण यहाँका ग्रामीण बस्तीहरूमा साबुनपानीले नियमित हात धुने बानीको विकास भएको छ । बालबालिका र वृद्धवृद्धाले समेत सरसफाईको महत्त्व बुझ्न पाएको बताउँछन् ।

सरुवा रोगबाट बच्न र बचाउन नियमित सरसफाइमा सधैँ ध्यान पुर्‍याउन सके आगामी दिनमा सरुव रोगबाट बच्न सक्ने कोरोनाले बदलिएको आनीबानीले पनि प्रमाणित गरेको छ ।