२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


संसदमा प्रदीप गिरीको बौद्धिक दादागिरी


234
Shares

संजिव कार्की l

प्रदिप गिरी अत्यन्तै अध्ययनशील चिन्तक र प्रजातान्त्रिक समाजवादका ब्याख्याताको रुपमा नाम र प्रभाव ठूलो फराकिलो बनाएका व्यक्ति हुन् । नेपालका कहलिएका मार्क्सवादी विचार बोक्ने भन्दा सघन अध्ययन,चिन्तन र मार्क्सवादी ब्याख्या प्रदिप गिरिबाट आउँछ । कांग्रेसको समाजवादको मोडल प्रदीप गिरीको बाणी जस्तो त छैन तर यस्तो हुनुपर्छ भनेर प्रदीप पैरवी गरिरहन्छन l नेपाली काङ्ग्रेसका चिन्तक गिरी मार्क्सवाद बढी पढने बुझ्ने र सामयिक प्रवचन गर्ने क्षमता राख्छन् । प्रदिप गिरीको भाषण सुन्न बामपन्थी बाहुल्य स‌‌सद्मा पिन ड्रप साइलेन्स छाउँछ । प्रदिपको बौद्धिक क्षमतामा दख्खल दिनेहरु अत्यन्तै न्यून छ्न् । यद्यपि खुलेआम मार्क्सवादको ब्याख्या गर्नेहरूले प्रदिपलाई बौद्दिक च्यालेन्ज गरेको सुनिएको छैन । बरु प्रधानमन्त्री ओलीले नेकपाका नेताकार्यकर्तालाई व्यंग्य गर्दै प्रदिप गिरीलाई मार्क्सवाद पढ्ने समय छ तर हाम्रो पार्टीका नेता कार्यकर्तामा त्यो फुर्सद छैन भनेको सुनिएको थियो भलै प्रधानमन्त्री गिरीको अध्ययनशिल क्षमताको घुमाउरो पाराले प्रशंसा गर्छन् तर गिरीको अन्तर्य र शासकहरुले अबलम्बन गर्नु पर्ने नीतिको बारेमा भने बेखबर बन्छन l

प्रधानमन्त्री ओलीले भनेको सुनिन्छ हाम्रा पार्टीका नेताकार्यकर्ता विशेष गरि अर्को कित्ताका नेताहरुले आलोचना र निन्दा जानेका छ्न तर मार्क्स चिन्दैनन भनेर प्रहार गरेबाट पनि नेपालमा मार्क्सवादका अध्येता गैरमार्क्सवादी पार्टी नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरी हुन भन्न सकिने एउटा तर्क हो । गिरी आफू र आफ्नो पार्टी अब्बल, अनि आफ्ना नेता मात्रै महान भनेर अन्ध भक्ति देखाउदैन, बरु बिपि, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद जस्ता अग्रजको पनि आलोचना गर्छ्न । विगत देखि आज सम्म नीतिगत सैद्धान्तिक र व्यवहारमा चुकेको प्रसस्तै उदाहरण सहित नेपाली राजनीतिको रौ चिरा केलाउने ल्याकत राख्छन l आफ्ना नेता बिपीसँग तत्कालिन समयमा राय बझाउने तेस्रो जेनेरेसनका काङ्ग्रेस हुन प्रदिप गिरी । बिपिसँग राय बझाउने हिम्मत प्रायः काङ्ग्रेस नेताहरु गर्दैनथे तर युवा प्रदिप गिरी त्यो हिम्मत जुटाउन सक्थे । कारण उनी अध्ययनशील र बौद्धिक भएकोले त्यो सम्भव भएको हो ।

गिरी कृष्ण प्रसाद भट्टराईका प्रिय पात्र थिए तर कृष्ण प्रसाद भट्टराईले उप चुनाव २०५० मा लडनु हुँदैन भनेर भट्टराईको इच्छा र रुचि बेगर बोलेर आफ्नो भिन्न छवि र मूल्यको राजनीतिलाई स्थापित गर्नुपर्छ भन्ने थोरै असल मध्येका असल नेता हुन । असल मित्र ,सुभेच्छुक त्यो हो जसले प्रशंसाको लागि प्रसंशाको गर्दैन , केही पाउन चाकरी गर्दैन बरु अप्रिय भए पनि वास्तविक र सत्य कुरा बताउँछ । त्यस्तै दुर्लभ पात्र नेताहरुसँग ब्यक्तिगत उन्न्नयन र स्वार्थको अपेक्षा नराख्ने ब्यक्ति हुन काङ्ग्रेस नेता प्रदिप गिरी ।

आज प्रधानमन्त्री ओलीलाई यथार्थ लुकाएर अयथार्थको रिपोर्टिङ गर्ने विज्ञ र सल्लाहाकार भएको कारण ओली बोली र तथ्य बीच अन्तर देखिन्छ बारम्बार । तथ्य बिगारेर लुकाएर भन्नेहरू मित्र होइनन् घाती र दुश्मन हुन । कम पढेलेखेका गिरिजा प्रसादमा कमन सेन्स बढी थियो अरु भन्दा तसर्थ गिरिजाप्रसादको नेतृत्व तत्कालीन माओवादी देखि तत्कालीन एमाले सम्मको लागि स्विकार्य भएको गिरिको मुल्यांकन थियो /छ । शान्ति प्रक्रियामा गिरिजा स्वीकार्य अगुवा हुनुको कारण काङ्ग्रेस ठूलो र पुरानो पार्टी मात्रै भएर हैन । पढेलेखेका नेताहरुले एकले अर्कोलाई नगन्ने, स्वीकार नगर्ने ‘इगोइजम’को कारण पनि गिरिजा नेतृत्व सहज भएको गिरीको बुझाइ सरल तर मिहिन निस्कर्ष थियो । झट्ट सुन्दा हास्ययास्पद र समान्य लागे पनि तत्कालीन पार्टीहरुको अन्तर बिरोध , ‘अनहेल्दी’ प्रतिस्पर्धा र ‘इगो’को मनोबैज्ञानिक विश्लेषणलाई आधार मान्दा यो अनुचित नै हो भन्न सकिन्न । तसर्थ गिरीको विश्लेषण तार्किक र धरातलीय यथार्थको नजिक हुनेगर्छ ।

गिरी नेताहरुको कमजोरी र सीमा बारे खुलस्त भन्छन् । सर्वाङ्ग नङ्न तीतो सटिक ढंगले तर मीठो आफ्नै शैलीमा बोल्छ्न । सार्वजनिक गर्छन । कृष्णप्रसाद भट्टराईको निकट भएको कारणले पनि होला यिनको लवजमा भट्टराईको ‘फ्लेवर’ सुनिन्छ । आलोचनात्मक चेत र धारिलो बौद्धिक क्षमताको कारण भाषणमा गिरी बिरोधी पार्टी र पक्षमा पनि ‘पपुलर’ छ्न रुचिका विशेष पात्र मध्येमा पर्छन् । आफ्नो पार्टी र नेताहरूको मात्रै होइन देशका पार्टी र तिनका नेताको कमजोरी सिमा, बाध्यता अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको वर्तमान, विगत र आगतको तार्किक र सुक्ष्म अनि सान्दर्भिक विश्लेषण बुझ्न पनि यिनको भाषण सुन्न लालायित बन्छन् मान्छेहरु ।

विभिन्न मिथक एतिहासिक पौराणिक सन्दर्भ, दन्ते कथा र धार्मिक ग्रन्थरुमा उद्दृत प्रसङ्ग आफ्नो भाषा र भाषणमा घुसाउन खप्पिस गिरी बौद्धिकहरुको लागि बौद्धिक खुराक पनि हुन अर्थात संसदका बौद्दिक दादा पनि हुन् l दादागिरीलाई सकरात्मक अर्थ र रुपमा बुझ्ने बुझाउने कुरालाई मान्ने हो भने संसदमा बौद्दिक दादाको रुपमा गिरीलाई सम्बोधन गर्दा अतिशयोक्ति हुदैन l तसर्थ यिनको भाषणमा आकर्षण छ । गिरीको बौद्धिक आकर्षण गज्जबको छ । बोली सामान्य तर बोली भित्रको वाणीमा दम र मान्छे झुम्म पार्ने सामर्थ्य छ । संसदमा गिरी जतिबेला बोल्छन त्यतिबेला बोलीले थप तरङ्ग उत्पन्न गर्ने गरेको छ । करिब एक बर्ष अघि सरकारको नीति तथा कार्यक्रम जुन कोरोना कहरको पहिलो झमटको बेला आएको थियो गिरी यतिबेला बोल्दै गिरीले टिप्पणी गरेका थिए l

सरकारको नीति तथा कार्यक्रममा सब थोक छ तर महामारीको यो भयानक तेस्रो विश्व युद्धमा मानवीय संवेदना छैन, माया प्रेम र परस्परको विश्वास छैन । देश दुखेको बेला संवेदनाहीन हुनु र माया प्रेमको अभाव देखिनुमा सरकार किंकर्तव्यबिमुढ छ । प्रधानमन्त्री ओलीका प्रसंशक र विशेष अनुराग राख्ने गिरी संसदमा यो पटक ओलीलाई कि गरिखानुस कि छोडी जानुस ‘इनफ इनफ’ हामी माथि दया गर भन्ने हदसम्म पुगेर बोले । गिरीको सालिन आक्रोशमा चरम निरासा र ओलीप्रति भरोसा टुटेको बुझ्न सकिन्थ्यो । कला, साहित्य, दर्शन, इतिहास समाजशास्त्र र राजनीतिशास्त्रका अध्येता गिरी राष्ट्रिय मौलिक विचारधाराको अभाव र धिरोदात्त चरित्रको नेताको खाँचो औल्याउँछन । सत्ताको हस्तान्तरण भयो तर रुपान्तरण हुन नसकेको कारण नै देश गतिशील बन्न नसकेको गिरीको ठोकुवा छ ।

नैतिकता नभएको राजनीति हावी हुनु दुर्भाग्य र आत्मघाती रहेको छ । राज्य सत्ताको कार्यकारी अवसर पाउन नलोभिने गिरी आफ्नो रुचि योग्यता अर्थात आफुमा त्यो पात्रता नरहेको निर्धक्क स्विकार गर्छन् । नेपालको बिकासको मोडेल बिदेशीएका पाखुरी नेपाल भित्र्याएर यहीँ रोजगारी र अवसर सिर्जना गर्नुपर्ने उनको तर्क छ । केही अपवाद बाहेक मानिस मुलतः स्वार्थको हिलोमा रह्न्छ भन्ने गिरी संघीयता र गणतन्त्रका काङ्ग्रेस भित्रका अभियन्ता र नेता हुन ।

अक्सर राजनीतिज्ञहरु आफ्नो रुचि र इच्छालाई जनताको रुचि भन्न रुचाउँछन् जुन गम्भीर भूल हो । मनोगत बन्दै जानाले मार्क्सवादीहरु बस्तुगत हुन भुलेको गिरीको कथन सुन्न पाइन्छ । जरुरत भन्दा बढी बोलेर नेताहरू फस्ने गरेको, प्रधानमन्त्री ओलीको समस्या पनि यही हो । विजितहरु उत्तरदायी भद्र, सहनशील र सालिन हुनुपर्छ तर विजितहरु पनि स्वयं उत्ताउलो र अशिस्ट देखिनु दुर्भाग्य हो । यदाकदा हार्नेहरुको उत्ताउलो पन निषेध नै गर्नुपर्ने विषय बन्दैन । देशको हालको अवस्था र चित्रलाई यसरी चित्रित गर्छन प्रदिप ।

संसारभर प्रारम्भिककालमा नेताले संविधान चलाउँछन तर संविधान स्थापित भै सकेपछि संविधानले नेता चलाउँछ । आफ्नो पार्टी भन्दा अलग धारका गिरी नेपाली काङ्ग्रेसका थिँक ट्यांंक हुन यद्यपि पार्टी अनुशासनले यिनलाई आजसम्म बाँधेको जस्तो देखिन्न । कहिलेकाही मधेसबादीको पक्षमा, कहिले जनजाति र कहिले सीमान्तकृत दलितको पक्षमा बोल्ने र अधिकांश समय मार्क्सवादी विचार धाराको धारा प्रवाह बोल्ने गिरी अजिव मनुवा हुन ।

संसदमा कम उपस्तिथि हुने गिरी जति उपस्थिति जनाउँछ्न र बोल्छ्न देश चलायमान बनाउने नितिगत बहस गर्छन् । गिरी काम गरेर देखाउने नेता भन्दा बढी नीतिनिर्माण गर्न उच्च बौद्धिकता पस्कने पढ्न्ते नेता हुन । नीतिनिर्माता मात्रै बन्ने सैद्धान्तिक मान्यताको आलोकबाट हेर्ने हो भने प्रदिप गिरी सैद्धान्तिक बहसमा खरो उत्रने नेता हुन । कतै ब्यबहार र ब्यबस्थापनको लागि मन्त्री या प्रधानमन्त्री हुने हो भने ओली र घनश्याम भुसाल जस्तै हुने त थिएनन ?

मार्क्सवादी अध्यता र व्याख्याता भित्र पूर्व मन्त्री नेकपा एमालेका नेता घनश्याम भुसालको चर्चा पनि राम्रै छ तर कृषि मन्त्री भएको बेला अन्नबालीमा मल हाल्ने बेला मल ल्याएर बेच्न सकेनन् जुन सिद्धान्त र ब्यबहारको बीचको ठूलो अन्तर हो l जबकी कालोबजारी गर्नेहरुले मल जताततै पुर्याएर अत्यन्तै महँगो मुल्यमा बेच्न सके तर सरकार र मन्त्री घनश्याम भुसालले कोरोना र ठेकदारलाई दोष दिएर आफ्नो असक्षमता ढाक्ने दुब्लो तर्क गरे l कतै गिरीको ब्यबस्थापकीय क्षमता पनि यस्तै बाणी र ब्यबहारमा हुने फरकजस्तै त होइन ? यद्दपि गिरीले आफू कार्यकारी र ब्यबस्थापकीय अवसर स्वीकार नगर्ने बताई सकेको हुनाले यिनको बौद्धिकता बाटै पार्टी देश र समाजले लाभ लिनुपर्ने हुन्छ l यसपटक पनि संसदमा प्रदीप गिरीले पार्टीको आधिकारिक मत र धारणा भन्दा पनि बाहिर गएर मत प्रकट गरे जुन चर्चित र भाइरल बनेको छ l

आफ्नो विवेक र बौद्धिकताले बोल्ने गिरीलाई पार्टीको अनुशासनले छुदैन त्यसैले संसदमा उभिएर आफ्नो पार्टीको नीति र नेताको बारेमा पनि आलोचना गर्न स्वतन्त्र छन् l यसपाली अस्ति संसदमा गिरीले प्रधानमन्त्रीलाई अभिमान त्यागेर विशेष जिम्मेवार हुन आग्रह गरे l आज मुलुकलाई यो अबस्थामा पुर्याउन म पनि जिम्वेवार र दुखि छु l यो संसदमा हामी जो जो छौ सबै दोषी छौ l दोष अर्कोलाई दिने र जिम्मेवारीबाट पन्छिने हाम्रो होड छ तर अरुको इशारा निर्देशन र हुकुममा हामी संलग्न र सहभागी नहुन्जेल अरुले केही गर्न सक्तैनन् त्यसैले एकपटक आफैलाई चियाओं l यो देशको सबैभन्दा बलवान मानिस प्रधानमन्त्रीलाई म भन्छु आजको रास्ट्रिय नियतिलाई आफ्नो तजबिजको कुरा नमानी, संसदमा उपस्थित सबै पार्टी, नागरिक समाजले उठाएका सवालहरुलाई सम्बोधन गरेर नयाँ उचाई प्राप्त गर्नुस l जालझेल गरेर सकुनीको पासा फ्याँकेर फेरि पाण्डवलाई वनबास पठाए जस्तो संसद बिघटन गर्ने दिशामा नगइदिनुस् l बरु रास्ट्रिय सहमतिको सरकार बनाएर भए पनि संसदलाई पूरा कार्यकाल चल्न दिनुस् l प्रधानमन्त्रीलाई छोड भन्ने तर सामाधान नदिने पक्ष र प्रवृतिलाई पनि प्रदीपले थर्काएका छन् l प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन ? संबिधान बचाउने कि २०४७ को संविधानको नियतिमा पुर्याउने भन्ने हो l व्यवस्था एउटा कुरा हो, व्यक्ति अर्को कुरा हुन्छ l व्यवस्थागत त्रुटीलाई व्यक्तिले आफ्ना क्षमताका साथ् त्यागका साथ परिमार्जन र परिस्कार गर्दै लैजानुपर्छ l

कुनैपनि मुलुकको संबिधान परिवर्तन र संसोधन नै नभएर चिरन्जीवी भएको छैन l जुन संविधान अपरिवर्तनीय र असंसोधनीय स्वीकार गरिन्छ त्यसको छिटै अन्त्य भएको विश्व र नेपालका यथेस्ट उदाहरण छन् तसर्थ संसोधन र परिमार्जनको बाटो छलेर व्यस्थाको खोट संसद विघटन मार्फत हल गर्न सकिन्न, प्रधानमन्त्रीले दोस्रोपटक संसद भंग गर्ने ‘बलंडर’ नगर्नु होला l यसरी संसदमा प्रदीप गिरीले बौद्धिक पहलमानी गरेका छन जसको अपोजिसनमा बलिया तर्क र निष्कर्षका अरु बाटो र स्थान देखाउने हैसियत न सत्तासँग छ न अरु प्रमुख प्रतिपक्षी लगायत दलसँग छ ? तसर्थ प्रदीप संसदका सदाबहार प्रतिपक्षी र समस्याको निकासका वकिल हुन l सुचना, संदेश, ज्ञान र यथार्थका प्रवक्ता हुन् l ज्ञान सत्ताका एक्ला धरोहर बौद्धिक दादागिरीमा महारथ प्राप्त नेताको रुपमा लिन सकिन्छ l संसदमा प्रदीप एक्लै बौद्धिक दादागिरी गर्न सामर्थ्य राख्छन l प्रदीपका विचार देशलाई ड्राइभ गर्ने र समस्यामा समाधान दिने छन्, हुन्छन अत ‘बौद्धिक डन’ र सदावहार राजनीतिक ज्ञानका दादाको रुपमा प्रदीप गिरीलाई लिन सकिन्छ l [email protected]