१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २८ सांसद्को हस्ताक्षर


0
Shares

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बिहीबार कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सांसद्हरूको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष पेश गर्नुभएको छ ।

अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी पार्टीका २ जना सदस्यले हस्ताक्षर गरेका छन् । प्रस्ताव बुझाउनु अघि सरकारलाई दिएको समर्थन माओवादी केन्द्रका तर्फबाट हरिबहादुर चुमानले फिर्ता लिएको प्रदेश सचिवालयमा जानकारी दिएका थिए ।

अविश्वास प्रस्ताव बुझाउनुअघि राष्ट्रिय जनमोर्चा नेपाल सहितको बैठक बसेको थियो ।

कांग्रेस संसदीय दलका नेता नेपालीले सरकारले सोचेभन्दा फरक ढङ्गले आफूहरू अघि बढ्ने बताउनुभयो । सरकार ढल्ने डरले रातारात संसद् अधिवेशन अन्त्य गर्ने खेलमा लाग्नु खराब भएको उहाँको भनाइ छ ।

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङले बुधबारको मिति राखेर संसद् अधिवेशन अन्त्य गर्नुभएको थियो । उक्त पत्र बिहीबार दिउँसो मात्र सार्वजनिक भएको थियो ।