
पलिस्था रञ्जितकार
भक्तपूर । भक्तपुरमा भव्य रूपमा मनाइने बिस्का जात्रा कोरोनाकहरकाबीच पनि उल्लासमय रूपमा मनाइएको छ । चैत मसान्तमा मनाइने लिङ्गो उभ्याउने जात्राले नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष मनाइन्छ ।
नालाबाट ल्याइने काठमा नाग नागिनीको चित्रअङ्कित विश्व ध्वज झुण्ड्याएको हलिन्पता सहित लिङ्गो उभ्याएर जात्रा मनाइने गरिन्छ । विधिवत रूपमा नयाँ वर्षकै दिन लिङ्गो ढाल्ने परम्परा छ ।
सन्त्रास मच्याएका नागनागिनीलाई मारेर लिङ्गोको हलिन्पत बनाइ झुन्ड्याएकै कारण प्रत्येक वर्ष भक्तपुरमा नाग नागिनीको स्मृतिमा लिङ्गो उभ्याउने र ढाल्ने जात्राको शुरुवात भएको किम्बदन्तीमा उल्लेख छ ।
पुरानो वर्षको समाप्ति र नयाँ वर्षको सुरुवातलाई जनाउने भएकाले यस जात्रालाई विश्व केतु जात्रा पनि भन्ने गरिन्छ । भैरवनाथ रथ तानेर सुरु हुने जात्रा हरेक वर्ष बैशाख ५ गते पाँचतले मन्दिरस्थित भैरवनाथको रथ तानेर सम्पन्न हुन्छ ।
आठ रात नौ दिन लामो बिस्का जात्राको मुख्य आकर्षण लिङ्गो ठड्याउनु हो । जात्रामा विश्वनाथ भैरव र भद्रकाली विशेष महत्वको भएको इतिहासविद् डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।
सहकाल ल्याउन, प्राकृतिक प्रकोपलाई टाढा राख्न र शत्रु परास्त गर्न मनाइने बिस्का जात्रा भक्तपुरवासीका लागि विशेष महत्त्वको चाड मानिन्छ । कुनै समय राजधानी शहरभरी नै मुल जात्राका रूपमा मनाइने बिस्का जात्रा वर्तमान समयमा केही नेवार बस्तीहरूमा मात्र सीमित भएको छ ।
वर्तमान समयसम्म जात्राको अस्मिता बचाउन भक्तपुरका नेवार समुदायको महत्त्वपूर्ण योगदान छ । अहिलेसम्म संस्कृति बचाइराख्नुमा यहाँका युवाहरूको ऐक्यबद्धता नै मुख्य कारक रहेको स्थानीय युवाहरूको भनाइ छ ।
जात्रा र परम्परागत भोजभतेरको थलो भक्तपुरकोे गरिमा यहाँको जात्रा र परम्परागत रितितिथि नै हो । आफ्नो धर्म, संस्कृतिको रक्षाका लागि सचेत यहाँका स्थानीयहरूले कोरोना भाइरसको परवाह नगरी जात्रामा सहभागी भए ।
प्रतिक्रिया दिनुहोस्