१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कोरोना संक्रमणको दर बढ्दै, दोस्रो लहर सुरु भएको हुनसक्ने विज्ञको अनुमान


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । नेपालमा एक महिना यता कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको संक्रमितको संख्या हाल एकै दिन ६ सय सम्म पुगेको छ । संक्रमणको दर दिनहुँ उच्च हुँदै जाँदा पनि सरकारको तयारी भने कमजोर देखिएको छ ।

बैशाख १ गते एकै दिन ६ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । यो संख्या ४ महिना यताकै उच्च हो । नेपालमा एक सातादेखि संक्रमणको दर झनै उकालो लाग्दै गएको छ । जसलाई संक्रमणको दोस्रो लहर सुरु भएको हुनसक्ने विज्ञहरू बताउँछन् ।

पछिल्लो समय देखिएका संक्रमितहरूमा युके भेरियन्ट भाइरसको स्वरूप बढी देखिएको छ । युके भेरियन्ट बालबालिका र युवाहरूमा बढी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बिहीबार ललितपुरका ५९ वर्षीय पुरुषमा पहिलो पटक डबल भेरियन्ट भाइरस देखियो । यो भेरियन्ट छिमेकी देश भारतमा देखिएको भेरियन्ट हो ।

संक्रमणदर दिनहुँ उच्च हुँदै जानुले उच्च जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत हुन बारम्बार आग्रह गरिरहेको छ । मन्त्रालयले संक्रमण बढी भएका ठाउँहरूको पहिचान गरी सर्वसाधारणलाई परीक्षणको दायरामा ल्याउने काम गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताउनुहुन्छ ।

देशभर हाल १ हजार ४ सय ८६ आइसियू र ६ सय ३४ वटा भेन्टिलेटर रहेको छ । स्वास्थ्य मन्त्रालयले संक्रमण कम गराउन नाकामा कडाइ देखि परीक्षणको दायरा फराकिलो बनाउँदै गएको दाबी गरे पनि न त नाकामा कडाइ गरिएको पाइएको छ, न त नाकाबाट प्रवेश गर्नेहरूको परीक्षण नै भएको छ ।

सहप्रवक्ता डा. अधिकारी स्वयं परीक्षण गराउने संख्या निकै कम रहेको र जटिल स्वास्थ्य अवस्था भएर मात्र अस्पताल आउनेको संख्या बढी रहेको बताउनुहुन्छ । कोरोना संक्रमण नियन्त्रण गराउन स्वास्थ्य मन्त्रालयले गरेको सिफारिस समेत हाल कार्यान्वयनमा आउन सकेको छैन । मन्त्रालयको निर्णयमा तीन तह सरकारको नै सहयोग नहुँदा संक्रमण नियन्त्रणमा कठिनाइ हुने देखिएको छ ।

काठमाडौं उपत्यकासँगै यतिखेर नेपालगञ्ज र पोखरा संक्रमणको हटस्पट बन्दै गएका छन् । कोरोना संक्रमितको संख्या उकालो लाग्दा लापरबाही समेत बढ्दो छ । झन गम्भीर किसिमका बिरामीको संख्या समेत बढ्दा संक्रमण उच्च रूपमा जाने देखिएको छ । यसैले सरकारले बेलैमा सर्तकता अपनाई आवश्यक तयारी गर्नुपर्ने देखिन्छ ।