१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जितपुरसिमरा गोल्डकपः बाग्मतीसँग भरतपुर स्तब्ध


0
Shares

प्रकाश लम्साल,

बारा । सेन्टर कलेज भरतपुर फूटवल क्लबलाई सडन डेथमा स्तब्ध पार्दै बाग्मती युवा क्लब सर्लाही जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बिहिवार भएको रोमाञ्चक भिडन्तमा भरतपुरविरुद्ध संघर्षपूर्ण जित हात पार्दै बाग्मतीले अघिल्लो यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टिमले बराबरी खेलेपछि नजिता सडन डेथबाट निस्किएको हो ।

सडन डेथमा बाग्मतीका गोलरक्षक अरुण ब्लोनले गोल गर्दा भरतपुर एफसिका प्रज्वल थापाको प्रहार क्रस बार माथीबाट बाहिरियो ।

यसअघि टाईब्रेकरमा दुबै टिमले २–२ गोल गरे । टाईब्रेकरमा राज भुषाल र एकराज बुढाथोकीले गोल गर्दा उमेश राई, बिक्की चाम्लिङ र बिपिन गुरुङ अवसर खेर फाले । बाग्मतीका लागि स्टेफन समिर र प्रितम स्याङबोले गोल गरे ।

बाग्मतीका निरज थापा, अभि लामा सेभ र मिग्मा घिसिङको प्रहारले जाली चुम्न नसक्दा टाइब्रेकर बराबरीमा सकिएको थियो ।

भरतपुरका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेका बाग्मतीका गोलरक्षक अरुण ब्लोन खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसअघि निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्र्धात्मक बन्न पुग्यो । खेल अवधिभरमा पाएका राम्रा अवसर दुवै टिमले खेर फालेका थिए ।

पहिलो हाफमा भरतपुरले बाग्मतीलाई दबाबमा राखेपनि दोस्रो हाफमा बाग्मतीले उत्कृष्ट पुनरागमन गरेको थियो ।

दोस्रो हाफको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको बाग्मतीको फिनिसिङ लाइन भने कमजोर देखियो ।

उत्कृष्ट खेल प्रदर्शन गरेपनि कठिन जित हात पारेको बाग्मतीले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

बाग्मतीले अब बिभागिय टिम एपिएफ क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार बिजय युथ क्लब हेटौडा र सुदुरपश्चिम धनगढीबीच खेल हुनेछ ।