१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुरानो बसपार्कका १ सय १२ पसल ‘सिल’


0
Shares

काठमाडौं । लामो समयदेखि विना सम्झौता सञ्चालन भैरहेका पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलबन्दी गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज सिलबन्दी गरेको जानकारी दिनुभयो ।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भन्नुभयो, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टीका रुपमा व्यवस्थित गर्छौ ।’

काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिनुभयो ।

नगरप्रहरी प्रमुख धनपती सापकोटाले पनि उहाँहरुलाई पटक–पटक सूचना दिदाँ पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिनुभयो ।

पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई समातेको थियो ।