१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेशसभाद्वारा प्रदेश–२ को नाम र राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान


0
Shares

काठमाडौं । प्रदेश–२ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ ।

प्रदेश सभा सचिवालयले बैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो । नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ ।

यसअघि २०७६ चैतमा प्रदेश–२ को प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो । तर नाम र राजधानी तोक्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमत चाहिनेमा नपुगेपछि अस्वीकृत भएको थियो । १ सय ७ सदस्यीय प्रदेशसभामा नाम र राजधानी स्वीकृत हुन ६९ सदस्यको समर्थन जुटाउनुपर्छ ।

यसअघिको नाम र राजधानीबारे मतदान हुदा सत्तारुढ तत्कालिन समाजवादी र राजपाले प्रस्ताव गरेको ‘मधेश’ नाममा ६० मत आएको थियो । कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामको पक्षमा ४२ मत आएको थियो भने तत्कालिन नेकपाले प्रस्ताव गरेको ‘जानकी’ को पक्षमा ३७ र कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’ को पक्षमा २८ मत आएको थियो ।

जनकपुरधामलाई स्थायी राजधानी तोक्ने विषयमा राजनीतिक सहमति गरिए पनि यो प्रस्ताव पनि अस्वीकृत भएको थियो । यो प्रस्तावको पक्ष र विपक्षमा ५२–५२ मत आएको थियो भने तीन वटा मत बदर भएको थियो ।