
काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आज काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो सवा १ बजे नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ मा, तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा र अन्तिम लिग खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ । लिगका शीर्ष दुई टिमले उपाधिका लागि बैशाख ११ गते फाइनल खेल्नेछन् ।
खेल सुरु हुनेअघि हिजो तीनै देशका कप्तानले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । यसैबीच नेपाल क्रिकेट संघ क्यानले कम दर्शकलाई टियु क्रिकेट मैदानमा प्रवेश गराउने जनाएको छ ।
महामारीलाई ध्यानमा राख्दै सीमित दर्शकलाई मात्र अनुमति दिइने छ । क्यानले खेल हेर्न टिकटको व्यवस्था गरेको छ । नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अबको तयारी ट्वेन्टी ट्वेन्टी विश्वकपको रहेको भन्दै यो प्रतियोगिताले आफूहरुलाई अभ्यासका लागि मद्दत पुग्ने बताएका छन् । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्