१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जीतपुरसिमरा गोल्डकप : हेटौंडा क्वाटरफाइनलमा


0
Shares

सिमरा । सुदूरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडाले विश्वकर्मा सिमेन्ट ११औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनल यात्रा तय गरेको छ ।

सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २–० गोलअन्तरको जित निकाल्दै विजय युथ क्बल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

हेटौंडाको जितमा नवराज नवराज गुरुङ र विकास लामाले एक–एक गोल गरे । खेलको १६ औं मिनटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडा विरुद्ध खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

हेटौंडाले ७५औं मिनेटमा विकास लामाको गोलबाट अग्रता दोब्बर पार्‍याे । सुदुरपश्चिमका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई लडाएपछि पाएको फ्रिकिक बललाई विकासले गोलमा परिणत गरे । करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिकलाई विकासले सिधै गोलमा परिणत गरेका थिए ।

सुदुरपश्चिमले खेलमा केहि आकर्षक अवसर बनाएपनि गोल गर्न सकेन । खेलको १८ औं मिनटमा विनोद केसीले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले बचाउ गरे । ३६औं मिनटमा सुदुरपश्चिमले बराबरी गोल गर्ने अर्को अवसर गुमायो ।

सुनील धामीको क्रसमा शक्ति राइले डिबक्स बाहिरबाट हानेको प्रहार हेटौंडाका गोलरक्षकले बचाए । खेलको ८८औं मिनटमा सुदूरपश्चिमका विनोद केसीको क्रसबल शक्ति राईले डिबक्स भित्र सम्हाल्न नसक्दा अन्तिम समयमा गोल गर्ने अवसर चुक्यो ।

खेलको म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती सिमरा भिड्दैछन् । हिमालयन शेर्पाले सिधै क्वाटर फाइनल खेल्दैछ भने आयोजकले उद्घाटन खेलमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो ।