१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तामाकोशीमा भरपर्दो स्वास्थ्य संस्थाको अभाव, उपचारका लागि निःशुल्क शिविरको भर


0
Shares

दोलखा । दोलखाको दुर्गम तामाकोशी गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्यको नाराले अझै छुन सकेको छैन । गाउँमा सामान्य अस्पताल नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले निःशुल्क शिविरको भर पर्नुपरेको छ ।

सबैका लागि स्वास्थ्य भन्ने सरकारी नाराले दोलखाको अति दुर्गम यो जफेवासीलाई गिज्याइरहेको छ । गाउँमा एउटा भरपर्दो अस्पताल नहुँदा र आर्थिक अभावका कारण स्वास्थ्यमा पहुँच पुर्‍याउन नसक्दा जफेवासी वर्षौंदेखि रोग पालेर बस्न बाध्य भएका छन् ।

काठमाडौं र सदरमुकाम पुगेर स्वास्थ्य उपचार सेवा लिने जफेवासीको संख्या एकदमै न्यून छ । त्यहाँ आर्थिक अभावका कारण उपचार गर्न नसकेको पाठेघरका बिरामीको संख्या धेरै छन् । तर, पनि शिविरबाट यस्तै रोग पालेर बसेका यहाँका झण्डै २ सय महिलाहरूले ढिलै भए पनि पाठेघरको समस्याबाट मुक्ति पाएका छन् ।

दुर्गम क्षेत्रका महिलाहरुको पाठेघरको समस्या निराकरण गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्त्रीरोग बिशेषज्ञ डाक्टर निलम शाहले आर्थिक अभावका कारण सेवा पाउनबाट बन्चित रहेका झण्डै चार सय बढी बिरामीको निःशुल्क परीक्षण गरिएको बताउनुभयो ।

गाउँमा भएएको स्वास्थ चौकी औषधिको अभावमा चौकी आफैँ थलिएको छ । टाढा–टाढाबाट ढाकर र नाम्लोको साहयताले थाप्लोमा बोकिएर आउने ज्येष्ठनागरिकहरू स्वास्थ्य चौकी थला परेको हेरेर मात्र फर्कन्छन् । आर्थिक अभााव हुँदा र उपचारको उचित प्रबन्ध नहुदा स्थानीय त्यसै रोग पाल्न बिवस भएका हुन् । शिविरबाट अध्यारोमा जीवन बिताइरहेका झण्डै एक सयभन्दा बढीले आँखा देख्न पाएका छन् । आँखा देख्न पाएपछि जेष्ठनागरिकहरू पनि खुसी देखिन्छन् ।

अध्यारोबाट उज्यालो तर्फको यात्रा तय गर्न निःशुल्क रूपमा आँखा शिविर सञ्चालन गरिएको हो । आँखा रोग बिशेषज्ञ डाक्टर कमलबहादुर खड्काले दुर्गम क्षेत्रमा आँखाको शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या उल्लेख्य रहेकाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा आवश्यक रहेको बताउनुभयो ।

ह्यान्स फर नेपाल र तामाकोशी गाउँपालिकाले संयुक्त रूपमा गरेको निःशुल्क शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, नाक, कान घाटी, दन्त सेवा र आँखाको मोतियाविन्दुको परीक्षण गरी निःशुल्क औषधि बितरण गरेको ह्यान्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले बताउनुभयो ।

शिविरबाट तामाकोशीसहित च्यामा, ठूलो पाताल, हावा, पौटी , घ्याङ, चुले ,बैद्येश्वर , भिमेश्वर, मैलुङदेखि टाढाको दुरदराजकाबासीन्दालेमेत सेवा लिएका छन् । त्यसैले पनि सरकारले यस्तो दुर्गम ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदिए रोग पाल्न विवश सर्वसाधरणले लाभ पाउने मात्र नभई आर्थिक अभावकै कारण ज्यान गुमाउनु पर्ने अवस्थाको समेत अन्त्य हुने थियो ।