
विनोद सिंह विष्ट
बैतडी । हतौडा प्रहारबाट बैतडीमा एक बालकको हत्या भएको छ । शनिबार दशरथचन्द नगरपािलका १ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।
महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो ।
मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले शनिबार बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन् । हतौडा प्रहार भए लगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो ।
के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।
खोचलेक प्रहरी चौकीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्