१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाक्षिक ८० करोड घाटा पुग्ने आयल निगमकाे प्रक्षेपण


0
Shares

काठमाडौं । नेपाल आयल निगमले पाक्षिक ८० करोड रुपैयाँ घाटा पुग्ने प्रक्षेपण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगमलाई पाक्षिक ८० करोड रुपैयाँ घाटा पुग्ने निगमले प्रक्षेपण हो ।

पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा ६० करोड घाटा पुग्ने निगमको अनुमान छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करिब ४ सय १८ रुपैयाँ घाटा रहेको जनाएको छ ।

पछिल्लो १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमलाई घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा घाटा रहे पनि मट्टीतेल र हवाई इन्धनमा भने केही नाफा रहेको छ । तर, मट्टीतेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमलाई घाटा पूर्तिको लागि आवश्यक योगदान दिनसकेको छैन ।

गत मार्च महिनामा ६० हजार किलोलिटर पेट्रोल, २ लाख ३ हजार लिटर डिजेल र ४७ हजार मेट्रिक टक एलपी ग्यास आयात भएको थियो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्यन कार्यविधि,२०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ । निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो ।

यसैबीच, नेपाल आयल निगमले रुपान्तरकारी योजनाका रुपमा लिइएको इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) शुक्रबारदेखि लागू गरेको छ । यसको पूर्ण कार्यान्वयन भने आगामी साउन १ गतेदेखि लैजाने निगमको भनाइ छ । यसबाट निगमका गतिविधिलाई पूर्ण स्वचालित प्रणालीमा जाने, आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवयेरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्न सकिने छ ।