१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, अन्तिम संस्कारमा ३० जना मात्रै सहभागी


0
Shares

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको आज अन्तिम संस्कार हुँदैछ । उहाँको अन्तिम संस्कार विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ । राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ ।

राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ ।

कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इंग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउने भएकाले अन्तिम संस्कारका लागि आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उहाँका तीन जर्मन नातेदार छन् ।

सरकारले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ । औपचारिक रूपमा गरिने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुने छैन । राजकुमार फिलिपको शवपेटिका उहाँको व्यक्तिगत झण्डाले ढाकिनेछ । उक्त झण्डाले उहाँको जीवन, ग्रीक मूलदेखि ब्रिटिश सम्मानहरूलाई प्रतिनिधित्व गर्नेछ ।

स्वास्थ्यसम्बन्धी सुझावहरूका कारणले गर्दा सर्वसाधारण नागरिकलाई अन्तिम समारोहका कुनै पनि गतिविधिमा भाग नलिन भनिएको छ । राजपरिवारले दरबारहरूमा फूल वा अरू सन्देशहरू पनि नराख्न आग्रह गरेको छ ।

राजपरिवारको वेबसाइटमा सर्वसाधारणहरूलाई ड्यूकको सम्झनामा फूल खरिद गर्नुको साटो परोपकारी संस्थाहरूमा दान गर्नेबारे विचार गर्न भनिएको छ । व्यक्तिगत रूपमा श्रद्धाञ्जली व्यक्त गर्न अनलाइन शोकपुस्तिका पनि उपलब्ध छ ।

अन्तिम संस्कारको दिन राष्ट्रिय शोकको अवधि समाप्त हुने छ । राजपरिवारले भने दुई साता शोक मनाउनेछ । तर परिवारका सदस्यहरू उपयुक्तता हेरेर शोकको संकेत गर्न कालो रङ्गको पट्टी लगाएरै कार्यक्रमहरूमा सहभागी हुनेछन् ।