
सिमरा । अफ्रिकन रुट्स एसोसियन विश्वकर्मा ११औँ जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा आईतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।
अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले जीतका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुप¥यो ।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाईटेड क्लबलाई ४-१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको आर्मीले अफ्रिकन रुट्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन् ।
सुरुवातदेखी नै दवावमा देखिएको आर्मीले अफ्रिकन रुट्सविरुद्ध गोलको खासै अवसर सिर्जना गर्न सकेन् ।
भर्खरै सम्पन्न आहा रारा गोल्डकपको फाईलनसम्को यात्रा तय गर्दै उपबिजेता बनेको अफ्रिकन रुट्सले खेल पहिलो हाफमा थुप्रै अवसर बनाएपनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतिक्षा गर्नुप¥यो ।
खेलको ६१औं मिनेटमा नजिमिले डिबक्स पाएको बललाई जाली चुमाए । आर्मीको रक्षापंक्तीलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रंगशाला पुगेका घरेलु दर्शक समेत निराश बन्न पुगे ।
अफ्रिकन रुट्सको गोलपछि दवावमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् ।
आर्मीको फिनिसिङ पक्ष कमजोर बन्दा अफ्रिकन रुट्स खेलमा बलियो देखियो । हार नजिक पुगेको आर्मीले खेलको ८९औं मिनेटमा पेनाल्टी प्राप्त ग¥यो ।
अफ्रिकन रुट्सका ए फेब्रिकले डिबक्स भित्र हातले बल रोकेपछि आर्मीले पेनाल्टीको अवसर पारेको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे ।
उनले सहजै पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ को स्थितीमा पुर्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त ३० मिनेटको समयमा अफ्रिकन रुट्सले सुरुवातमै आर्मीविरुद्ध अग्रता लियो । अतिरिक्त समयको पाचौ मिनेटमा नजिमिले दोस्रो गोल गरे ।
स्मेलको कर्नर बललाई हेड गर्दै नजिमिले गोल गर्दा आर्मी निराश बन्न पुग्यो । अतिरिक्त समयमा अन्तिम समयमा आक्रामक देखिएपनि गोल फर्काउन नसक्दा साविक उपबिजेता आर्मी हार आत्मसाथ गर्दै घर फर्कन बाध्य भयो ।
अफ्रिकन रुट्सको जित दुई गोल गरेका नजिमि खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाच हजार हात पारे ।
प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपिएफ क्लब र बाग्मती ११ सर्लाहीबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्