१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिमा सम्पदाको संरक्षण भएन, विकासको नाममा सम्पदा विनास


0
Shares

नरेद्र मानन्धर
काठमाडौं । काठमाडौं उपत्यकामा मात्र ७ वटा विश्व सम्पदाहरू रहेका छन् । तर, विश्व सम्पदामा सूचीकृतमध्येको एक पशुपति क्षेत्रमा रहेका पुरातात्विक महत्वका बौद्ध सम्पदाहरूको उचित संरक्षण पशुपति क्षेत्र विकास कोषले गर्न सकेको छैन ।

पशुपति क्षेत्रमा रहेको लिच्छवीकालिन यो बौद्ध सम्पदा धम्मचक्र हराएको दुई महिना हुन लाग्यो । तर, अहिलेसम्म पशुपति क्षेत्र विकास कोषले हराएको धम्मचक्र फेला पार्न सकेको छैन । न त चोरी गर्ने व्यक्तिलाई नै समाउन सकेको छ ।

यहाँ पुरातात्विक र ऐतिहासिक महत्वका धेरै बौद्ध सम्पदाहरू छन् । तर, उचित संरक्षण नहुँदा यस्ता सम्पदाहरू हराउँदै पनि गएका छन् । हाल अरुणधारा भनिने लिच्छवीकालिन हितिको पनि उचित संरक्षण हुन सकेको छैन ।

कुनै बेला चाबहिलका वासिन्दाहरूले समेत पानी थाप्न आउने यो प्राचिन बौद्ध चैत्यसमेत रहेको हिति बेवारिसे जस्तै बनेको छ । यो प्राचिन बौद्ध चैत्य हाल परेवालाई पानी खुवाउने भाँडो भनेको छ । श्लेषमान्तक वनमा रहेको अर्को प्राचिन बौद्ध चैत्यको समेत उचित संरक्षण हुन सकेको छैन ।

यस्ता पुरातात्विक महत्वको कैयन सम्पदाहरु अलपत्र र छरिएर रहेका छन् यहाँ । कोषले कुनै चासो राखेको देखिँदैन । बौद्ध विद्धान पुण्यप्रसाद पराजुली पशुपति क्षेत्र विगतमा बौद्ध विरासत रहेको भन्दै यहाँका सबै सम्पदाहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

कोषले बौद्ध सम्पदा मात्र नभइ यहाँका अन्य सम्पदाको पनि संरक्षण गर्न सकेको छैन । विश्वरूपको मन्दिरको अवस्था पनि उस्तै छ । पुरातात्विक मर्मविपरित सिमेन्ट प्रयोग गरेर पशुपति मन्दिर परिसरमै निमार्ण कार्य हुँदा पनि सरोकारवाला कसैले चासो देखाएका छैनन् ।

नेपालमा रहेका विश्व सम्पदा नेपालीको मात्र होइन विश्वकै गौरव हो । तर, यसको महत्व नबुझेर वा बुझेर पनि कमिसनको लागि विकासको नाममा सम्पदाको विनास भइरहेको छ । जुन आफ्नै खुट्टामा आफैँले बन्चरो हाने जस्तै हो ।