१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ओलीमा हिटलर प्रवृति छ, पतन भएर जान्छन्– माधवकुमार नेपाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली तर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताउनुभएको हो ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याइदिएको पनि टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि उहाँको आरोप छ ।

आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताउनुभयो ।

नेता नेपालले संसद्ले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसद्लाई नै घाँडो ठानेको पनि बताउनुभयो । आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको उहाँको आरोप छ ।