२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बागलुङको दुर्गम गाउँका महिला ढाका बुनाइमा व्यस्त, समयको सदुपयोगसँगै आम्दानी पनि


0
Shares

डम्मर बुढामगर
बागलुङ । दुर्गम तामान गाउँ अहिले ढाका बुन्ने महिलाहरूको गाउँ भनेर चिनिन थालेको छ । मगर समुदायको बाहुल्यता भएको गाउँका अधिकांश महिलाहरू दैनिकजसो ढाका बुन्न तल्लीन हुने गरेका छन् ।

ढाका बुनाइ अहिले यहाँका महिलाहरूको लागि आर्थिक उपार्जनको भरपर्दो स्रोत बनेको छ । प्रत्येक घरमा काठबाट बनेका ढाका बुन्ने तानहरू देख्न सकिन्छ । ढाका बुन्न घरका कोठाहरू कपडा र धागोहरूले भरिभराउ देखिन्छन् ।

अझ यहाँको आमा समूहले आफ्नै भवनसमेत बनाएर महिलाहरूको आयआर्जनको थलो पनि बनाएका छन् । जहाँ गाउँका महिलाहरूले उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालनमा आएपछि उनीहरूको बिहान बेलुकाको समय घरको काममा र दिउँसो उद्योगमा बित्ने गरेको छ ।

खाली घरको काम र बालबच्चाको स्याहार सुसारमा रहने स्थानीय महिलाहरूको दैनिकीसमेत फेरिएको छ । उद्योगमा सबैले आलोपालो तान चलाउने र धागो मिलाउने गर्ने गरेका छन् ।

उद्योगमा ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादालगायतका कपडाहरू बनाउँदै आएका छन् । बुनेका कपडाहरू स्थानीय बजारसँगै विदेशमा समेत निर्यात हुने गरेको छ । उद्यमी जमुना घर्तीले उत्पादन गरेका सामानहरू अहिलेसम्म गाउँ तथा आसपासका स्थानहरूमा बिक्री गर्दै आए पनि बजार ब्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाँको गुनासो छ ।

बागलुङ घुम्न आउने पर्यटकहरूले बागलुङबाट चिनोका रूपमा ढाका टोपी, आस्कोट, सल, चोलो पछ्यौरा, झोलादेखि साडी सम्म उपहारको रूपमा लैजाने गरेका छन् । यस बर्ष भने कोभिड संक्रमण, लामो लडकडाउनले गर्दा विगतका तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको ढाका व्यवसायीहरूको भनाइ छ ।

जिल्लामा झण्डै एकदर्जन साना ठूला ढाका उद्योग रहेका छन् भने जिल्ला भरी नै घरेलु तानबाट ढाका बुन्ने संख्यामा दिनहुँ वृद्धि भइरहेको छ । महिलाहरूको आपसी एकताले सक्षम र उद्यमी बन्ने समाज परिवर्तन गर्न सकिने सन्देश यहाँका महिलाहरूले दिएका छन् ।