
सोमराज पोखरेल
काठमाडौं । कोरोना भाइरसको महामारी विरुद्धको कोभिशिल्ड खोप लगाएका हाड जोर्नी रोग विशेषज्ञ डा. कपिलमणि केसीलाई संक्रमण भएको छ । कोरोना विरुद्धको खोप लगाएपछि संक्रमण नहुने सम्भावना बढी हुने भए पनि डा. केसीलाई भने खोप लगाएपछि संक्रमण भएको हो ।
गुल्मीको मदाने गाउँपालिकाका डा. केसीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुवै खोप लगाउनुभएको थियो । उहाँले पहिलो डोज गत माघ १८ गते लगाउनुभएको थियो । डा. केसीले दोस्रो डोज चैत २२ गते लगाउनुभयो । दोस्रो खोप लगाएपछि अब कोरोनाले छुँदैन भनेर ढुक्क भएका डा. केसीमा त्यसपछि भने ठूलो समस्या निम्तियो ।
नेशनल प्याथ ल्याब बेल्बास बुटवलमा परीक्षण गराउँदा उहाँमा कोभिड–१९ पोजेटिभ देखियोे । उहाँको सिटी भ्यालु मात्र २६ रहेको थियो । तर पनि उहाँलाई ज्वरोले निकै दुःख दियो । उहाँले भन्नुभयो, ‘कोभिड खतरनाक नै देखियो । ७–८ दिनसम्म उच्च ज्वरो देखियो । सात दिनसम्म त सुत्नै नसक्ने भएँ ।’
उहाँले अहिले पनि सिटामोल नखाने हो भने ज्वरो आउने बताउनुभयो । काठमाडौंस्थित नागरिक अस्पतालमा कार्यरत डा. केसी गत वर्षको कोरोना उच्च दरमा बढिरहेका बेलामा पनि सेवामा खटिनुभयो । कतिपय संक्रमितकै पनि शल्यक्रिया गर्नुभए होला । त्यतिबेला पटक–पटक पीसीआर परीक्षण गर्दा पनि उहाँमा संक्रमण भने देखिएको थिएन ।
अहिले केही समयका लागि अस्पतालमा बिदा लिएर बुटवलमा बस्दै आएका डा. केसीले सोमबार दिउँसो भन्नुभयो, ‘आजै काठमाडौं आउने कुरा थियो । ७ गतेसम्म अस्पतालमा बिदा लिएको थिएँ । अहिले आएर यस्तो भयो ।’
डा. केसीले बिरामी हेरे पनि स्वास्थ्य मापदण्डको पालना गरेको बताउनुहुन्छ । यति गरे पनि नपुग्ने रहेछ कि भन्ने उहाँलाई लागेको छ । उहाँले आफूलाई कोरोना संक्रमण लागेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिनुभयो । यसको एउटै उद्धेश्य थियो कि कोरोनाको खोप लगाए पनि सावधानी अपनाउन नभुलौं । खोप लगाइयो भनेर ढुक्क भएर नबसौं भन्ने नै रहेको उहाँले बताउनुभयो ।
डा. केसीले भन्नुभयो, ‘मलाई त भयो नै अरुलाई सावधानी गराउनुपर्ने देखियो । कोरोनाको खोप लगाएपछि पनि स्वास्थ्य सावधानी अपनाउनु पर्ने देखियो ।’
यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिशिल्ड ७० देखि ८० र भेरोशिल ८० प्रतिशत विश्वसनीय भएको भन्दै कोभिशिल्ड लगाएका ३० प्रतिशत असुरक्षित हुने तथ्यलाई भुल्न नहुने बताउनुभयो ।
डा. गौतमले मिडियाले खोप लगाएपछि पूर्ण रूपले निको हुन्छ भनी सम्प्रेषण गर्नु गलत भएको बताउनुभयो । यहाँले भन्नुभयो, ‘मलाई खोप रोज्ने कि मास्क भन्दा म मास्क नै रोज्छु । किनकि २० देखि ३० प्रतिशत त खोप लगाउने असुरक्षित हुन्छन् नै । तसर्थ खोप लगाए पनि मास्क लगाउन त छोड्नु भएन नि ।’
बैशाख ७ देखि ११ गतेसम्म कोभिशिल्डको दोस्रो डोज लगाउने समय सरकारले दिएको छ । डा. गौतमले चार लाख ३८ हजार जनालाई दोस्रो चरणको खोप लगाउने बताउनुभयो । उहाँले यसअघि तीन–चार सय जना स्वास्थ्यकर्मी, डाक्टर, नर्स लगायतले दोस्रो डोजको खोप लगाइसकेको जानकारी दिनुभयो । सीमित स्थानमा खोपको मिति सकिने अवस्था हुन लागेपछि केहीलाई खोप लगाइएको पनि उहाँले बताउनुभयो ।
डा. गौतमले फागुन १० गतेसम्म खोप लगाएकाहरूलाई वैशाखको ७ देखि ११ गतेसम्म कोभिशिल्डको दोस्रो डोज लगाउन लागिएको जानकारी दिनुभयो । त्यसपछि मात्र फागुन १० गतेभन्दा पछि कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो डोज लगाइनेछ ।
फागुन १० गतेभन्दा पछाडि खोप लगाएकालाई दोस्रो डोज खोप लगाइसकेपछि मात्र पहिलो चरणको खोपसमेत नलगाएकालाई लगाउने सूचना जारी गर्ने डा. गौतमले जानकारी दिनुभयो । उहाँले खोप लगाए पनि नलगाए पनि मास्क भने अनिवार्य लगाउनु पर्ने बताउनु भयो ।
पछिल्लो समय कोरोनाका संक्रमित बढ्दै गएका छन् । सोमबार एकै दिन १२ सय ८१ जनामा कोरोना संक्रमित थपिएका छन् । यो संख्या चार महिना यताकै सबैभन्दा बढी हो । आइतबार एक हजार ९६ जनामा संक्रमण देखिएको थियो । निरन्तर संक्रमित थपिँदै गए पनि स्वास्थ्य मापदण्ड पालनामा भने सबै क्षेत्र चुकेको छ ।
प्रतिक्रिया दिनुहोस्