
काठमाडौं । भदौमा १४औं महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण प्रविष्ट गर्नुपर्ने म्याद पुनः थप गरेको छ ।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा पठाइसक्नुपर्ने उर्दी जारी गरेको हो । बैठकले सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बु जिल्ला बाहेक ७३ जिल्लाका कार्यसमिति र क्षेत्रीय समितिहरुले एक साताभित्र क्रियाशील सदस्यको विवरण पठाइसक्नुपर्ने निर्णय गरेको हो ।
चार जिल्लाको हकमा भने विशेष कारण देखाउँदै बैशाख ३० गतेसम्मलाई समय प्रदान गरिएको छ । बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अन्तिम पटक म्याद थप गरिएको जानकारी दिनुभयो ।
कार्यतालिका अनुसार कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तल्ला तहको अधिवेशन सुरु हुन अब करिब दुई महिनामात्रै बाँकी छ । तर, केन्द्रलाई अहिलेसम्म ७३ जिल्लाबाट ६ लाख ५ हजार ४ सय ३ जना क्रियाशील सदस्यको विवरण प्राप्त भएको छ ।
समिति संयोजक लेखकका अनुसार यसपटक कांग्रेसले सबै क्रियाशील सदस्यहरुको विवरण वेभसाइटमा सार्वजनिक गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्