
चितवन, वैशाख ७ । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीरे पुल सञ्चालनको तयारीमा रहेको छ ।
पुल निर्माणको काम सकिएसँगै सवारी गुड्ने अनुमति दिन लागिएको हो । घुमाउरोसँगै साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम धेरै रहेको उक्त ठाउँमा पक्की पुल निर्माणसँगै २६५ मिटर दूरी छोटिएको छ ।
पुलको ९९ दशमलव ९ प्रतिशत काम सकिएकाले सवारी गुड्ने अनुमति दिने तयारीमा रहेको सडक आयोजनाकी सूचना अधिकारी एवं इन्जिनियर सविना रानाभाटले जानकार दिनुभयो ।
मन्दिर छेउछाउमा केही क्याभिन पूरा गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ । ८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सनलाई २०७४ असोज २३ मा १३ करोड ९४ लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।
जलबीरे पुल सँगै यो सडकखण्डमा अन्य १५ वटा पक्की पुलहरु निर्माण भइरहेका छन् । सडक विस्तार भए पनि पूराना पुलहरू नहटाउँदा जाम पर्ने र दुर्घटना समेत बढेपछि सरकारले नारायगढ–मुग्लिन सडकमा १५ वटा पक्की पुल निर्माणको कार्यलाई अघि बढाएको थियो । बाँकी निर्माण भइरहेको पुल अनुप कन्सक्ट्रक्सनले बनाइरहेको रानाभाटले जानकारी दिनुभयो ।
पुल निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको मिति यही वैशाख ९ गते सकिदैछ ।
प्रतिक्रिया दिनुहोस्