
विनोद सिंह विष्ट
बैतडी, साउन १० । भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ बर्ष भईसक्दा समेत भारतले सहमती नदिँदा बैतडीको पञ्चेश्वरमा झोलुंगे पुल निर्माण कार्य अघि नबढेको हो ।
महाकाली नदीमाथि झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका बैतडीको तल्लोस्वराड क्षेत्रका नागरिक यतिबेला निराश भएका छन् । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ बर्ष भईसक्दा समेत निर्माण कार्य अघि नबढेपछि चिन्तित बनेका वीरेन्द्र महताले बताए ।
पुलको अभावमा भारतीय बजारमा आवतजावत गर्न डुंगा प्रयोग गर्नु परेको छ । तत्काल भारतीय बजार जानु परेको अवस्थामा बाढी आउँदासमेत डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको स्थानीय बताउँछन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको झोलुंगे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीनओटा पुल निर्माणका लागि गत बर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा बन्ने पुलका लागि भारतले सहमती नदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
दार्चुलाको लालीमा पुल निर्माण भईसकेको छ भने तिग्रममा पुल निर्माण कार्य जारी छ । पञ्चेश्वरमा पुल निर्माणका लागि भारत सरकारबाट सहमति नपाउँदा निर्माणको काम सुरु हुन नसकेको निर्माणको जिम्मा पाएको खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.लिले जनाएको छ ।
१ करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।
पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुंगे पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाए पनि प्रान्तीय सरकारले असहमति जनाउँदा पुल बन्न नसकेको हो ।
पञ्चेश्वरमा महाकाली नदीमाथि बन्ने भनिएको झोलुंगे पूल निर्माणका बिषयमा सम्बन्धित निर्माण कम्पनी र सरकारी कार्यालयसँग छलफल भए पनि सहमती नदिएको बैतडी प्रदेश (ख) का सांसद लिलाधर भट्टले बताए ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पुल निर्माण हुने भन्दै भारतीय सरकारले सहमति नदिएको उनले बताए । अहिले पुल निर्माण गर्ने भनेर तोकिएको ठाउँभन्दा ३०० मिटर तल सर्वे गरेर सहमतिका लागि भारतीय सरकार समक्ष कागजात पठाइएको उनले बताए ।
डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य
बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमाथि पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । हरेक बर्षजस्तै यो बर्षातमा पनि स्थानीयहरु जोखिम मोलेर महाकाली नदीमा ओहोरदोहर गरिरहेका पञ्चेश्वरका स्थानीय मोहन चन्दले बताए ।
जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको महाकाली नदी किनारसँग जोडिएका बस्तीका बासिन्दा जोखिम मोलेर महाकाली यात्रा गर्ने बाध्य भएको उनले बताए ।
औषधिमूलोदेखि अन्य घरायसी समानका लागि भारतीय बजार धाउनुपर्ने र महाकाली नदीमा पानीकोबहाव बढेपछि जोखिम मोलेरै भए पनि यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
सरकारले तुइन भएका ठाउँमा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने नीति लिएको भएपनि डुंगा विस्थापित गर्ने कुनै नीति नल्याएको तल्लोस्वराडबासीको गुनासो छ ।
महाकाली नदीमा पुल नहुँदा तल्लोसोराड क्षेत्रमा १० बढी घाटबाट स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । महाकाली नदीमा चल्ने डुंगाहरु पनि बर्षाको समयमा नदीमा पानीको वहाव बढ्ने भएकाले बन्द हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्