
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
हिजोको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले आज पनि बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा गरेको रिपोर्टिङको ब्रिफिङ गर्नुहुने बताइएको छ ।
यस्तै बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव तथा यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे छलफल हुनेछ ।
बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै वर्तमान सरकारको विपक्षमा रहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुङ्गोमा पुग्न सकेको छैन ।
माओवादीका नेताहरुले मौखिकरूपमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको जिकिर गरिरहे पनि उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक निर्णय गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्