८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउने तयारी (भिडियो)


0
Shares

ध्रुव भट्टराई

बिराटनगर, साउन १० । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पाइपलाइनबाट घरघरमा ग्यास पुुर्‍याउने सरकारको योजना सुनाएका थिए ।

भारतीय नाकाबन्दीको कहर झेलिरहेका नागरिकलाई आश्वस्त पार्दै ओलीले पाइपलाइनको ग्यास बाल्ने भन्दै गर्दा धेरैले खिल्ली उडाएका पनि थिए । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै पाइपलाईन बिछ्याएर घरघरमा ग्यास पुर्‍याउने योजनाले यतिबेला विराटनगरमा भने सार्थकता पाएको छ ।

पहिलो चरणमा महानगरपालिका–१४ नम्वर वडाका घरघरमा बायो ग्यास पुुर्‍याउन पाइप बिछ्याउने काम धमाधम भइरहेको हो । विराटनगर–१४ स्थित श्री कृष्ण गौशालाको गाईको गोबरबाट ३ सय घनमिटर ग्यास उत्पादनका लागि प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सम्पन्न भएको छ ।

गौशाला परिसरमा ग्यास टयाङ्क स्थापना गर्ने कामसमेत सम्पन्न भइसकेको छ ।

टयाङ्कमा ग्यास स्टोर गरिन्छ र स्टोर गरिएको ग्यास पाइलाइनबाट घरघरमा पुुर्‍याउने गरी तयारी भइरहेको सो कार्यमा खटिएका स्थानीय सन्तोष यादव बताउँछन् ।

साविकको जिल्ला विकास समिति, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र गौशालाको सहयोगमा काम शुुरु भएको हो । विश्व बैंकको ८० प्रतिशत, गौशालाको २० प्रतिशत र विराटनगर महानगरपालिकाको ५ लाख रुपैयाँ लगानीमा बायो ग्यास प्लान्ट सञ्चालन गर्न लागिएको हो ।

डेढ वर्ष अघि शुुरु गरिएको सो प्लान्टबाट पहिलो चरणमा ३२ घरमा, त्यसपछि एकसय घरमा ग्यास पुुर्‍याउने लक्ष्य रहेको बताइएको छ ।

प्राविधिक काम सम्पन्न भइसकेकाले पाइपलाइन बिछ्याउने काममात्र बाँकी रहेको सो कार्यमा खटिएका उर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

पाइपलाइनबाट ग्यास आउने भएपछि उपभोक्ता समेत उत्साहित भएका छन् ।

उत्पादन गर्न लागिएको बायोग्यास एलपी ग्यासको तुलनामा केही सस्तो हुने जनाइएको छ ।

गौशालाका गौ सेवक मोहितचन्द्र यादवले गौशालामा रहेका २०५ वटा गाईबाट दैनिक २ हजार केजी गोबर उत्पादन हुँदै आएको जानकारी दिए । उनले साउन अन्तिमसम्ममा उपभोक्ताको घरमा पाईपबाट ग्यास वितरण कार्य शुरु हुने जानकारी दिए ।

८४ लाख रुपैयाँको बजेटमा सञ्चालनमा ल्याउन लागिएको यो प्रविधि सफल भएपछि अन्य स्थानमा समेत पाइपलाइनबाटै ग्यास वितरण गरिने जनाइएको छ ।

भिडियो हेर्नुहोस्