१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बेला भएन र, संस्कारको विषवृक्ष तोड्ने ?


182
Shares

नारायणी लामिछाने

एक दिन अफिसमा बहसकै क्रममा साथी एल.बी विश्वकर्माले युट्युबको टेन्ड्रिङमा रहेको भिडियो देखाउँदै सोधे– ‘महिला हिंसामा ठूलो भूमिका कसको रहन्छ ?’

सधैं मथिङगल हल्लाइराख्ने प्रश्नले पुनः मलाई झस्कायो । एक पटक त लाग्यो । एलबीले मलाई नै जिस्काइरहेको छ । मैले उसलाई चर्को स्वरमा सोधिहाले ‘मलाई जिस्काएको हो ?’

उसले होइन भन्दै एक भिडियोलाई अन्त्यसम्म हेर्न सुझाव दियो ।

मैले उसले पठाएको लिन्क खोलेर हेरेँ । किशोर खतिवडा र लक्ष्मी गदालबीचको विवाद रहेछ । उनीहरु लामो लिभिङ टुगेदरमा बसेका रहेछन् । केही समयपछि विवाह गर्ने सर्तमा उनीहरुले संगै बस्ने निधो गरेका रहेछन । तर, त्यस क्रममा थुप्रै पटक लक्ष्मीको पेटमा बच्चा बसेको रहेछ । उक्त बच्चालाई जन्मदिने उनको चाहना हुँदाहुँदैपनि किशोरको दबाबमा फाल्नु परेको उनले सुनाउँदै थिइन् ।

सुरुमा लाग्यो, ‘पुरुष मान्छे किन यति निकृष्ट हुन्छन् ? दुई खुट्टामा उभिएको महिला जात देख्ने वित्तिकै किन विवेक र स्वनियन्त्रण गुमाउँछन् ? कता जाँदैछ, समाज ?’

मेरो मनमा यस किसिमका प्रश्न विशेषतः दुईवटा कारणले उठेका थिए । एक लक्ष्मीमाथिको चरम महिला हिंसा र दोस्रो उनको शरीरमाथि अर्कैको रजाइँको प्रसंग ।

अलिपछि लाग्यो, ‘पुरुषभन्दा दोषी त महिला हुन् । उनले आफुलाई अरुको नियन्त्रणमा राख्ने अनुमति किन दिइन् ?’

मन यत्तिले भरिने वाला थिएन । अनेकौ किसिमका प्रश्नहरु उठिरहेका थिए । किनकी हरेक दिन यस किसिमका दर्जन बढी समाचार यिनै हातले लेख्नुपर्ने र यिनै आँखाले देख्नुपर्ने बाध्यता छ । प्रहरीको तथ्यांक हेर्दापनि २०७७ फागुनदेखि बैशाखसम्म २ हजार २ सय ३४ जना महिला बलात्कारको शिकार भएका छन् ।

२०७७ वैशाखदेखि माघसम्म ९ हजार ५ सय ४१ घरलु हिंसाका घटना भएका छन् । सुरक्षा निकायसँग गएको वर्षको यो डरलाग्दो तथ्यांक छ । यी घटनाको फेहरिस्त सम्झिदा लाग्यो ‘मान्छेलाई किन यति निकृष्ट बनाउँदैछ समाज ?’ यो प्रश्न दिमागमा घुमिरह्यो ।
एक पटकलाई म कन्भिन्स भएँ, ‘हाम्रो समाजले नै बलात्कारी उत्पादन गरिरहेको छ ।’

यो समाजको व्यवस्था नै गलत छ । जसले जबरजस्त बलात्कारीहरु जन्माउने कसरत गरिरहेको छ । यो समाजमा छोरीलाई सानो देखाउने प्रचलनका कारण नै बलात्कारीहरु बढ्दै गएका हुन् ।

तर, आफ्नै निष्कर्ष आफैलाई चित्त बुझेन । हामी महिला पनि समाज परिवर्तन गर्न सक्छौं । यो व्यवस्था परिवर्तन गर्न सक्छौं । अझ अहिले त झन् देशको राष्ट्रपति समेत महिला हुनुहुन्छ । समाजले पनि यत्तिको अधिकार दिएको छ ।

पहिले छोरी मान्छेलाई घरबाट एक्लै बाहिर पठाउनु हुन्न भन्ने थियो । अहिले त्यस्तो छैन । महिलाहरु आफ्नो लागि आफै बर छान्न पाउँछन् । शहरी क्षेत्रमा त अझ लिभिङ टुगेदरमा समेत बसेका छन्, कैयौं महिला ।

दुबैजनाको सहमतीपछि मात्र लिभिङ टुगेदरमा बस्ने निर्णय भएको हुन्छ । यतिका अधिकार त प्रशस्तै छन् ।
लक्ष्मी किशोरको केशमा पनि उनीहरु विवाह गर्ने सर्तमा लिभिङ टुगेदरमा बसेका रहेछन् । अन्ततः किशोरले विवाह गर्न नमानेपछि लक्ष्मीले मिडिया गुहारेकी रहिछन् ।

लक्ष्मीको कुरा सुन्दा महिला हिंसाको पनि चरम रुप जस्तो देखिन्छ । उनलाई पटक–पटक बच्चा फाल्न लगाएको समेत किशोरमाथि आरोप छ ।

यो असम्भव कुरा हो भन्न सकिन्न । सही पनि होला सायद । हाम्रा महिला दिदी बहिनीले यस्ता कैयौं घटनामा सिकार हुनुपरेको छ । अझ पछिल्लो समय लिभिङ टुगेदरमा बस्नेहरुको संख्या समेत बृद्धि भएको छ । लिभिङ टुगेदरमा बसेका अधिकांस महिला हिंसाको सिकार भएका छन ।

‘आखिर यसको कारण को हो त ? के पुरुषहरु मात्रै हुन्, महिला छैनन् ?‘
मेरो एकजना साथि पनि विवाह गर्ने सर्तमा लिभिङ टुगेदरमा बसेको तीन वर्ष भयो । पहिले–पहिले उनले धेरै पटक मलाई उनीहरुका रमाइला कुराहरु सुनाउने गर्थिन् । आफ्नो सम्बन्ध र ब्वाइफ्रेण्डको खुबै तारिफ गर्थिन् ।

उनका ब्वाइफ्रेण्ड पेसाले ईन्जिनियर हुन् । मुलुकको एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्छन् । उनले धन पैसा पनि राम्रै कमाएका छन् । आफ्नै सवारी छ । यता कोठाको भाडा तिर्ने र उनका आवश्यकताहरु उनैले पुरा गरिरहेका छन् ।

ती साथिले मलाई पनि धेरै पटक यस्तै जागिरे केटासंग रिलेसनमा बस्न सुझाव दिएकी थिइन् । उनको ब्वाइफ्रेण्डको साथिसंग कुरा गर्छु है भनेर सोधेकी थिइन् । तर, मलाई राम्रो पत्रकार बन्ने धोको मरेको छैन ।

हरेक भेटमा उनी भन्ने गर्थिन् –‘हेर नारायणी राम्रो पढेलेखेको, जागिर भएको केटा खोजेर रिलेसनमा बस । तिमीलाई यति धेरै दुःख गर्नै पर्दैन । मैले पनि समयमै सरलाई भेटेँ । अहिले लाइफ सेक्युरर्ड छ ।’

उनले सुरुवातमा धेरै मेहेनत गरेकी थिइन् । मैले उनको दुःख राम्ररी बुझेकी थिएँ । तर, त्यो केटासंग भेट भएपछि उनको जीवन कायापलट भएको थियो । मलाई पनि उनको प्रस्ताव ठिकै हो जस्तै लाग्न थालेको थियो । तर मेरो लक्ष्य सबैभन्दा ठुलो ठानेर अघि बढिरहेकी थिएँ ।
तर पछिल्लो समय उनलाई धेरै समयदेखि देखेको थिइन । अस्ति बैशाखमा उनको र मेरो भेट भयो । उनी दुब्ली पातली थिइन् । ज्यान सुकेर लौरो जस्तो भएको थियो । पहिलेको जस्तो ज्यान देखिदैन थियो । ओठहरु जम्मै सुकेका थिए ।

उनलाई सोधेँ – ‘के भएको तिमीलाई ? ज्यान सुकेको छ । बुढी आइमाई जस्तो देखिएकी छौँ त!’

उनी त्यसबेला मुसुक्क हासिन् मात्रै केहि बोलिनन् । हामी नजिकैको रेष्टुरेन्टमा गयौं । अनि कुरा गर्न थाल्यौँ । उनले पछिल्लो पाँच महिनामा दुई पटक बच्चा फालेकी रहिछन् ।

उनका ब्वाइफ्रेण्डको दबाबमा बच्चा फाल्नुपरेको रहेछ । बैशाख २ गते बच्चा फालेको दिनदेखि ब्लड रोकिएको छैन रे । यसैले उनको ज्यान सुकेको रहेछ । ज्यान मात्रै सुकेको कहाँ हो र ? उनका सपनाहरु पनि धर्मराएका छन् ।

उनका ब्वाइफ्रेण्डले विवाह नगरौं । आफ्नो सम्बन्धलाई अब यत्तिकै टुंग्याउनु पर्छ भनेर दबाब दिइरहेका रहेछन् । उनलाई अहिले ठूलो पीर छ । जसका लागि उनले आफ्नो ज्यानै दिइन् । उसैले उनलाई गनेको छैन । लक्ष्मीको केश पनि सेम छ । तर, लक्ष्मी अधिकारको लागि लडिरहेकी छिन् । मेरी साथि भने इज्जत जाने डरले मौन बसेकी छन् । यी दुबै घटना र यस्ता किसिमका अन्य घटनाहरु सम्झिएँ ।
मलाई लाग्यो ‘बलात्कारी समाजले होइन । हामी महिलाले पनि जन्माइरहेका छौं ।’ किनकी हामीले आफैंले आफ्नो शरीरलाई उनीहरुको नियन्त्रणमा दिन्छौं । आफ्नो जीवन खुसहाल बनाउन पुरुषहरुको शरण लिन्छौं । पत्रकार विमल नेपालले भने झैं ‘बलात्कार पुरुषले गर्दैन, बलात्कारीले गर्छ ।’ ती बलात्कारीको हौसला हामी बढाई दिन्छौं ।

हामी महिलाहरुलाई हाम्रै विचरा मानसिकताले कमजोर पारिरहेको छ । समाजको कुरीती सुधार्नुपर्ने छँदै छ । हामी चाहिँ विचरा मानसिकतामा कहिलेसम्म हुर्किने ?

परिवारमा छोरीको जन्महुँदा– ‘आहा ! फुल जस्तै भनिन्छ । देवीका नामले उसलाई पुकारिन्छ । तर, तस्वीरका देवीको जति विश्वास गर्छन् । उति विश्वास छोरीको किन गरिदैैन ?’

हामी विचराभावबाट प्रताडित छौँ । हाम्रा हौसलाहरु खोसिएका छन् । अनि हामी भने कसैले विचरा भन्यो भने मख्ख पर्छौ । आफुलाई उसले सहयोग गर्न खोजेको ठान्छौं । तर, उसले विभेद गरिरहेको छ भन्ने कहिल्यै बुझ्दैनौं, किन ?

हाम्रो समाजले जन्मजात जेठोलाई उच्च सम्मान गर्छ । विश्वासिलो मान्छ । त्यही समाजले बीस वर्षकी छोरीको गोठालो दश वर्षको भाइलाई मान्छ । तर, दश वर्षको भाई हेर्ने जिम्मेवारी बीस वर्षकी छोरीलाई किन दिँदैन ? हामी कसरी अयोग्य भयौं ?

सार्वजनिक बसमा हिँड्दा कुनै पुुरुष शरीर आफुमाथि आड लाग्दा हामी खुम्चिएर बस्छौं । तर, त्यो पुरुषलाई के गरेको यस्तो भन्न समेत सक्दैनौं ? हामीलाई के ले रोकेको छ ? किन आँट गर्दैनौं ?

कुनै सहकर्मी च्याटमा बोलिरहँदा उस्ले के छ, कता छौं, खाजा खायौं, खाएनौं भन्ने प्रश्नलाई हामीले यस्ले त मलाई माया गर्ने रहेछ भन्ने सोचिरह्यौं । तर के त्यो माया नै हो ? होइन । त्यो त महिला हिंसाको सुरुवाती बिन्दु हो । महिला हिंसाको सुरुवात ‘आइलभ यू’बाट हुन्छ । पहिले ‘आइलभ यू’ भन्नेहरुले यसैको आडमा हाम्रो शरीरलाई बन्धक बनाएको हुन्छ । तपाईंले ख्याल गर्नु भएको छ ?

कुनै पनि पुरुष साथि आफुभन्दा कमजोरलाई बनाउनै चाहेनौं, किनकी हाम्रै मानसिकता आफुभन्दा बलियोको सुरक्षामा रहनुपर्छ भन्ने बनिरह्यो । घरमा बिहेको कुरा चहिरँहदा कुनै पनि केटा आफ्नै उमेरको भएपनि म भन्दा बलियो छ की छैन, मलाई पाल्छ कि पाल्दैन भन्ने सोच्छौं । हाम्रा बा आमापनि यस्तै सोच्छन् । यो त समाजले बारिदिएको पर्खाल मात्रै हो ।

हाम्ले कहिल्यै सोचेनौं– ‘म पनि पढेलेखेकी छु । समाज र परिवेश बुझेकी छु । मेरो लागि मैले नै सबै गर्न सक्छु । यो पुरुषप्रधान समाज हो साथिहरु । यहाँ विचरा भन्नेहरु मात्रै छन । हामीलाई सहयोग गर्ने कोही छैनन् । यसैले अब आफै लड्न, पढ्न र गर्न सक्नुपर्छ । हामीले यो समाजका पर्खालहरु सबै भत्काउनु पर्छ । हामी २१ औं शताब्दीका महिला हौं । यो समाजलाई यो कुरा बुझाउनु पर्छ ।

हाम्रो समाजमा कुनै महिलाको श्रीमान् बित्यो । डिभोर्स भयो वा ब्वाइफ्रेन्डसँग पनि ब्रेकअप भयो भने हाम्रा कुरा काट्न थालिन्छ । तर, त्यही समाजले श्रीमती वितेका पुरुषलाई एक महिला नबित्दै झ्याइँझ्याइँ बाजा बजाएर दुलही भित्र्याउने अधिकार दिएको छ । अब हामीले पनि त्यो आँट गर्नुपर्छ ।

हाम्री आमाले केटासँग दोस्ती नगर्नु, खित्का छाडेर नहाँस्नु, पुरुषले भन्दा सानो स्वरमा बोल्नु भन्ने पाठ बालापनदेखि नै सिकाएको हुन्छ । के म हाँस्न पनि नपाउनु ? मेरो हाँसोले पुरुषवादी समाजको कुन चाहिँ व्यवस्थामा आँच पुग्यो ? म जान्न चाहन्छु । कहिलेसम्म बस्छँैं विचरा नामक विषवृक्षको छापमुनी हामी ? कहिले तोड्न सक्छौं हामी विचरा मानसिकता ? आखिर कहिलेसम्म बन्ने हामी विचरा मानसिकताको शिकार ?