७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भारतमा कोरोना भयावह, संक्रमितलाई उपचार दिनै नसक्ने, अस्पतालहरु अक्सिजनविहीन बन्दै


0
Shares

एजेन्सी । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् ।

दिल्लीका ६ वटा अस्पतालमा संक्रमितलाई उपचारका लागि अत्यावश्यक अक्सिजन सकिएको छ ।

मानिसहरु अक्सिजनको प्रतिक्षा गर्दागर्दै मृत्युको मुखमा पुगिरहेका छन् । चिकित्सकहरुले अन्य अस्पतालहरुमा केही घण्टाका लागि मात्रै अक्सिजनको मौज्दाद रहेको जनाएका छन् ।

दिल्लीका अस्पतालहरुमा झण्डै शतप्रतिशत बेडहरु भरिभराउ छन् । भारतमा हिजो एकै दिन संक्रमित हुनेको संख्याले विश्व रेकर्ड बनाएको थियो ।

भारतमा एक राज्यबाट अर्को राज्यमा अक्सिजनको ओसारपसारमा पनि स्थानीय अधिकारीहरुले रोक लगाउँदा अवस्था झनै नाजुक हुँदै गएको छ ।

दिल्ली लगाएतका केही राज्यहरुले अक्सिजनको आपूर्तिमा हुँदै आएको रोकावटमा केन्द्र सरकारलाई हस्तक्षेपका लागि आग्रह गरे पनि कुनै सुनुवाइ हुन सकेको छैन ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा आजका लागि निर्धारित चुनावी ¥यालीमा सहभागी नहुने जानकारी दिनुभएको छ ।

उहाँले हिजो साँझ ट्वीट गर्दै आफूले पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री मोदीले आजै कोभिड–१९ उच्चस्तरीय बैठक गर्ने बताउनुभएको छ ।

उता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि आफ्ना सबै चुनावी कार्यक्रहरु रद्द गरेको जनाउनुभएको छ ।

उहाँले भर्चुअल माध्यमबाट चुनावी अभियानमा जोडिने बताउनुभएको छ ।