
सिमरा । सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पन्छाउदै संकटा क्लब सिमरामा जारी ११औँ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
एपिएफमाथी ३–१ को सहज जीत निकाल्दै संकटाले उपाधी भिडन्तका लागि क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनसँगको भेट पक्का गरेको हो ।
क्यामरुन यसअघि नै आयोजक नव जनजागृती क्लब सिमरालाई हराउँदै फाईनल प्रवेश गरिसकेको छ ।
बिराट गोल्डकपको उपाधिसहित सिमरा आएको एपिएफ संकटासामु निरिह बन्यो । खेलमा फितलो प्रदर्शन गरेको एपिएफको पोष्टमा संकटाले लगातार तीन गोल गर्यो ।
संकटाकोे जीतमा प्रकास बुढाथोकी एक्लैले दुई गोल गरे । टिमका लागि अर्को एक गोल अफ्रिकी खेलाडी फोफाना फोडेले गरेका थिए ।
चौथो मिनेटमै संकटालाई पहिलो अग्रता दिलाउने राम्रो अवसर खेर फालेका प्रकाश बुढाथोकीले खेलको २२औँ मिनेटमा टिमका लागि पहिलो गोल गरे ।
चौथो मिनेटमा एपिएफका सनिस श्रेष्ठले हेड गर्दा छुटेको बल गोलमा परिणत गर्ने उत्कृष्ट अवसर पाएपनी फितलो प्रहारका कारण पोष्टको दिशा दिन सकेनन् ।
खेलको २२औँ मिनेटमा गणेश हमालको क्रसमा प्रकाश बुढाथाेकीले टिमललाई पहिलो अग्रता दिलाएका थिए ।
एपिएफका गोलरक्षक अमृत कुमार चौधरी अघी बढ्न पुग्दा डि बक्स भित्र पाएको बललाई प्रकाशले सहजै जाली चुमाए ।
यसअघी १६औँ मिनेटमा घनस्याम खाँ थारुको क्रसमा प्रदिप लामाले गरेको प्रहार संकटाका गोलरक्षक राजा बाबु थापाले बचाउ गरेका थिए ।
एपिएफको फितलो रक्षापंक्तीको फाईदा उठाउँदै संकटाले ३५औँ मिनेटमा गोलका लागि अर्को अवसर बनाएको थियो ।
तर प्रकाश बुढाथोकीले गरेको प्रहार क्रस बारमा ठोकिन पुग्यो । संकटाका साहदि स्मार्टको क्रस बललाई सम्हाल्दै प्रकाशले गोलका लागि प्रहार गरेका थिए ।
लगत्तै प्रकाश बुढाथोकीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । ३७औँ मिनेटमा एपिएफका सन्तोष कटुुवालले संकटाका सुभाष गुरुङलाई लडाएपछी पाएको फ्रिकिकको सदुपयोग गर्दै संकटा प्रकाशले गोल गरेका थिए ।
संकटासँग सुरुवाती समयदेखी नै दवावमा परेको एपिएफले ५९औँ मिनेटमा गोलका लागि अर्को अवसर गुमाायो ।
५९औँ मिनेटमा मध्यभागबाट मणी लामा एक्लैले सम्हालेर डिबक्स भित्र पु¥याएको बललाई सहि दिशा दिन सकेनन् । उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
पहिलो हाफमा २–० ले पछी परेको एपिएफले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । ६१औँ मिनेटमा संकटाका फोडे फोफानाले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।
७४औँ मिनेटमा एपिएफका प्रदिप लामाले पाएको राम्रो अवसर खेर फाले । वन भर्सेस वनकोको स्थितीमा रहेको बललाई समेत उनले गोलमा परिणत गर्न नसक्दा संकटाका गोलरक्षक राजा बाबु थापाले क्लियर गरिदिए ।
खेलको अन्तिम समयमा एपिएफका प्रदिप लामाले सान्त्वना गोल गर्दै टिमलाई लज्जास्पद हारबाट जोगाए । ९०औं मिनेटमा संकटाका सुमन बिकले डि बक्सभित्र हेण्ड गर्दा पाएको पेनाल्टीमार्फत लामाले सान्त्वना गोल फर्काएका थिए ।
खेलको म्यान अफ दि म्याच संकटाका प्रकाश बुढाथोकी घोषित भए । जितसँगै गत चैतमा सम्पन्न आहा रारा गोल्डकपको बिजेता समेत रहेको संकटाले ११औँ जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्