१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना महामारीमा हलेसीमा मेलाः न मास्क, न भौतिक दुरी नै कायम (भिडियो)


0
Shares

दिवस रिजाल
खोटाङ । खोटाङको हलेसीमा कोरोना कहरकाबीच पूजाआजा गर्ने भक्तजनको भीड बढेको छ ।

मेलाको अवलोकन गर्न पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर हप्ता दिन मेला लाग्ने गरेको छ ।

कोरोना भाइरसको महामारीका बीच पनि हलेसीमा स्वास्थ्य मापदण्ड बिनै भब्य मेला लागेको छ । मेला भर्न र पूजाआजा गर्न भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।

मेलामा नेपालका सबै जिल्ला र छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलको भनाइ छ ।

कोरोना कहरकै कारण २०७६ चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएसँगै यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य वृद्धि भएको छ ।

प्रत्येक वर्ष यहाँ भाकल पुरा होस् भन्ने मनोकांक्षा लिएर प्रार्थना गर्नका लागि हलेसी महादेवको दर्शन गर्न आएको दर्शनार्थीको भनाई छ ।

धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपले समेत विश्वप्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले भरिभराउ भएका छन् ।

कोरोना भाइरस फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर भीडभाडलाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिनुभयो ।

हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिव–पार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।