१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्वास्थ्य मापदण्ड बेवास्ता गर्दा सर्लाहीमा प्रहरीद्वारा कडाइ, निःशुल्क मास्क वितरण


0
Shares

सर्लाही । स्थानीयले स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दा जिल्लामा प्रशासनले कारबाहीलाई तीव्रता दिएको छ । जिल्लाको महेन्द्र बजारमा क्षेत्रमा प्रहरी तथा ट्राफिक प्रहरीले चोक–चोकमा निगरानी बढाएको छ ।

प्रहरीले मास्क प्रयोग नगर्ने यात्रु तथा सर्वसाधारणलाई सम्झाइ बुझाइ निःशुल्क मास्क वितरण गर्दै आएको छ । बजार क्षेत्रमा निगरानी बढाउँदा अधिकांशले मास्क प्रयोग नगरेपछि मास्क वितरण गरिएको ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रमुख वीरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न अपिल गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरे पनि स्थानीयले अटेर गर्दा प्रहरी कारबाही गर्न बाध्य भएको छ ।

कोरोना संक्रमणको कारण दोस्रो लहर सुरु भएपछि सर्लाहीका एक जनाको वीरगञ्जमा मृत्यु भइसकेको छ । मानिसको मृत्यु भइसक्दा पनि स्थानीयले भने भिडभाड गर्न छाडेका छैनन् । प्रहरीले पनि स्वास्थ्य मापदण्ड पालना गर्न स्थानीयलाई आग्रह गर्दै आएको छ ।