१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बादलसँग वार्ता हुँदैन, लाल आयोगको प्रतिवेदनसहित प्रधानमन्त्री वार्तामा आउनुपर्छ– लक्ष्मण थारु


0
Shares

विराज रोस्यारा
कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’बाट वार्ता नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली वार्तामा आउनुपर्ने बताउनुभएको छ ।

सरकारले टीकापुर घटनाको मुद्दामा थारुसँग गरेको वार्तालाई नौटङ्कीको संज्ञा दिँदै उहाँले लाल आयोग र देवीराम शर्मा समितिको प्रतिवेदन टेबुलमा राखेर प्रधानमन्त्री स्वयम् वार्तामा आउनुपर्ने बताउनुभयो ।

कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले वार्तामार्फत समस्या समाधान नभइ वार्ता गरेको मात्रै देखाउन खोजेको आरोप लगाउनुभयो । ‘एक महिनादेखि थारु समुदायसँग वार्ता गर्‍यौं भनेर देखाउनका लागि मात्रै सरकारले वार्ताको नौटङ्की गरेको हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन, बादलबाट वार्ता सफल हुँदैन, प्रधानमन्त्री वार्तामा आउनुपर्छ ।’

उच्च अदालत दिपायलको टीकापुर घटना मुद्दाको फैसलापछि दोषी ठहर भइ अर्धभूमिगत भएका थारुले छानविन प्रतिवेदन सिरानीमुनि लुकाएर टीकापुर घटना मुद्दाको समाधान नहुने बताउनुभयो । उहाँले कुनै पनि समुदायसँगको सद्भाव नबिग्रिने गरी मुद्दाको शीघ्र समाधान हुनु पर्ने उल्लेख गर्नु भयो ।

टीकापुर घटनालाई चाँडै समाधान गर्नुपर्ने बताउदै थारुले पहिलो, दोस्रो चरणको विरोधको कार्यक्रम गरिसकेको र अब आउँदो १६ गतेदेखि तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले रेशम चौधरी रिहाई र टीकापुर घटना मुद्दालाई सरकार गिराउने र बनाउनेसँग जोड्न नहुने बताउनुभयो ।

घटनाको उचित समाधानका लागि रेशम चौधरीलाई जेलमुक्त गर्दै चौधरीसहित बन्दी र बन्दीका परिवारसँग वार्ता गर्नेमा जोड दिनुभयो ।