
भरत शर्मा
पाल्पा । कुनै बेला खानेपानीको मुख्य स्रोेतको रूपमा रहेका पाल्पाका ढुङ्गेधाराहरू लोप हुँदै गएका छन् । पाल्पाको तानसेन नगर क्षेत्रभित्र रहेका दर्जनौं ढुङ्गेधारा संरक्षणको अभावमा लोप हुन थालेपछि चिन्ता बढ्दै गएको छ ।
बढ्दो शहरीकरण र वन विनाशका कारण पानीका स्रोतहरू सुक्दै जान थालेपछि पाल्पाका ढुङ्गेधाराहरू लोप हुन थालेका छन् । तानसेनमा खानेपानीको विकल्पको रूपमा रहेका ढुङ्गेधाराहरू लोप हुन थालेपछि कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरू बढी मर्कामा परेका छन् ।
ढुङ्गेधारा छन्, तर मुहान सुकेका कारण धाराबाट पानी चुहिन छाडेको छ । सेन र मल्लकालीन समयमा बनेका धाराहरूको संरक्षणमा ध्यान नदिँदा ढुङ्गेधाराहरू खण्डहरमा परिणत भएका हुन् । प्राचीन शहरमध्येको तानसेन नगरमा स्थानीय र बाटो हिड्ने बटुवाको प्यास मेटाउने उद्देश्यले यस्ता धाराहरू निर्माण गरिएको थियो ।
नगरभित्रका दर्जनौ ठाउँमा निर्मित ढुङ्गेधाराको मुहान तथा पानीको स्रोत भएको ठाउँमा पक्की ढलान गरी सडक निर्माण गर्नाले प्राचीन सम्पदाको अस्तिस्व संकटमा परेको हो । यस्तै पानीको स्रोत माथिबाट जथाभावी डोजरको प्रयोग गर्दा पनि मुहान सुक्दै गएका छन् ।
प्राकृतिक र प्राचीन सम्पदाको विनाश हुने गरी भइरहेको विकासले तानसेन नगरले आफ्नो मौलिकतासँगै पहिचानसमेत गुमाउँदै गएको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापा बताउनुहुन्छ ।
मानवसिर्जित क्रियाकलापका कारण ऐतिहासिक सम्पदाको अस्तित्व नै समाप्त हुन पुगेको स्थानीयको भनाइ छ । प्राचीन सम्पदामाथि अतिक्रमण गरी भवन निर्माण गर्दा खानेपानीको मुख्य स्रोत ढुङ्गेधाराजस्ता पुरातात्विक सम्पदाको अस्तित्व थप जोखिममा परेको स्थानीयको भनाइ छ ।
स्वास्थ्य, शिक्षा र पर्यटनको नारालाई अगाडि सारेको तानसेन नगरपालिकाले प्राचीन सम्पदालाई पुर्नजिवित गर्न अग्रसरता नदेखाए पर्यटनको नारा, नारा मै सीमित हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्