१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जलवायु परिवर्तनको असर मौसममा पनि, वैशाखमा समेत हिउँ पर्‍याे


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । जलवायु परिवर्तनले नेपालको पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्दै गएको देखाएको छ । तापमान वृद्धिले हिमालय क्षेत्रको जलवायुमा गम्भीर धक्का लाग्ने खतरा बढिरहँदा त्यसको असर मौसममा पनि देखा पर्न थालेको छ ।

यस वर्ष पनि करिब एक महिना ढिलो गरी नेपालमा प्रि–मनसुन सक्रिय हुन थालेको छ । यसलाई मौसमविद्हरूले जलवायु परिवर्तनको असर भनेका छन् । बिहीबार पश्चिमको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात समेत भयो ।

प्रि–मनसुनको समयमा वर्षा हुनु स्वभाविक भए पनि शिशिर यामको जस्तै हिममात हुनुलाई अनौठो मानिएको छ । स्थानीय पश्चिमी वायु सक्रिय हुँदा उपत्यका लगायतका धेरै स्थानमा वर्षा भएको थियो । पश्चिमी वायु बलियो बन्दा वर्षा स्वभाविक रहे पनि वसन्त ऋतुमा हिमपात हुन जलवायु परिवर्तन जिम्मेवार भएको मौसमविद् मञ्जु बासी बताउनुहुन्छ ।

गत हिउँदमा ३–४ पटक संसारकै प्रदुषित हावा वहने कीर्तिमान राखेको काठमाडौं उपत्यकाको मौसम पनि अहिले खुलेको छ । उपत्यकामा वर्षायाममा वायु प्रदुषण घट्ने र जाडो याममा बढ्ने स्वाभाविक प्रक्रिया रहे पनि वायु प्रदुषणको जोखिम भने कम भएको छैन ।

काठमाडांै उपत्यकाको वायु प्रदुषण उत्र्सजन वहन क्षमता न्यून रहेको भनिए पनि अहिलेसम्म कति मात्रामा प्रदुषित वायु थेग्न सक्छ भनेर अध्ययन भएको छैन । घरायशी प्रयोजन, यातायात तथा अन्य क्षेत्रबाट हुने गरेको प्रदुषण उत्सर्जन कम गरेमात्र वायु प्रदुषणलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भित्र राख्न सकिने विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् प्रा.डा. रामप्रसाद रेग्मीको भनाइ छ ।

एकातिर जलवायु परिवर्तनकै कारण तापक्रम बढ्दो छ भने हिमालय क्षेत्रको जनजीवन पनि प्रभावित बन्दै गएको छ । विज्ञको सुझाव कार्यान्वयनमा बेवास्ता गरिरहने हो भने नेपालको वायु प्रदुषणको गतिले विश्वलाई नै पछि पार्ने क्रम जारी रहने छ ।