
काठमाडौं । गोरखा भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरिंदैछ ।
१२ वैशाख २०७२ को भूकम्पबाट भत्किएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । धरहरा आसपासको पार्क तथा अन्य क्षेत्र समेटिएको बृहत टाँडिखेलको निर्माण कार्य बाँकी रहेपनि आज धरहराको भने उद्घाटन गर्न लागिएको हो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पपछिको ६ वर्ष अवधिमा पुनर्निर्माण र पुनस्र्थापनाको कार्य पूरा भएको जनाएको छ । निजी आवासमा ९३ प्रतिशत उपलब्धि प्राप्त भएको प्राधिकरणको दावी छ । अनुदान सम्झौता गरेका कुल लाभग्राहीमध्ये झण्डै ९३ प्रतिशतले निजि आवास पुर्ननिर्माण थालेका छन् ।
प्राधिकरणले भूकम्पपछि २ सय ९९ असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माणको वातावरण सिर्जना गरेको जनाएको छ । यस्तै, प्राधिकरणले क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटा पुनर्निर्माण सम्पन्न गरेको छ ।
प्रतिक्रिया दिनुहोस्