
काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजमा उपाधिका लागि भएको खेलमा नेपालले नेदरल्याण्ड्सका लागि २ सय ३९ रनको रेकर्ड ब्रेकिङ लक्ष्य दिएको छ ।
यो नेपालले दिएको अहिलेसम्मको सबैभन्दा धेरै लक्ष्य हो । यसअघि नेपालले गतवर्ष भएको दक्षिण एसियाली खेलकुदमा २ सय ३६ रनको लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको उपाधिका भिडन्तमा नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । दीेपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाउँदै अविजित रहे ।
कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शाहले १६ रनमा पेभेलियन फर्किए । बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोसिभानले २ तथा सेबस्ट्यान्ट ब्राटले १ विकेट लिए ।
नेदरल्याण्ड्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्