
काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गरेको हो ।
नेपालले घरेलु मैदानमा पहिलो टी–२० सिरिज जित्दा ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेको थियो ।
२ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स नेपालको कसिलो बलिङसामु टिक्न सकेन । १७ ओभर ३ बलमा सबै विकेट गुमाएर नेदरल्याण्ड्स ९६ रनमा समेटियो । उसका लागि सेबास्टियन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । म्याक्स ओ डाउडले २० र पिटर सीलारले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । यो नेपालले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले यसअघि दक्षिण एसियाली खेलकुदमा भुटानलाई २ सय ३६ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकीय पारी खेलेका हुन् ।
यस्तै दीेपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाएर अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शाहले १६ रनमा पेभेलियन फर्किए ।
बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोसिभानले २ तथा सेबस्ट्यान्ट ब्राटले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्