
एजेन्सी । भारतमा अक्सिजनको अभावमा बिरामीहरूको मृत्यु हुन थालेपछिले अदालतले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई झुण्ड्याउन आदेश दिएको छ ।
दिल्लीस्थित महाराजा अग्रसेन अस्पताले गम्भीर बिरामीलाई भइरहेको अक्सिजन कमीलाई लिएर अदालतमा रिट दायर गरेपछि झुण्ड्याउन आदेश दिएकोे हो । न्यायाधीश विपिन सांघी र रेखा पल्लीको बेञ्चले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई कुनै माफी दिन नसकिने जनाउँदै यस्तो आदेश दिएको हो ।
सुनुवाइका क्रममा केन्द्र सरकारले दिल्लीमा दैनिक ४ सय ८० मेट्रिक टन अक्सिजन आपूर्ति गर्ने आश्वासन कहिले पूरा हुन्छ भन्ने प्रश्न गरेको छ । दिल्लीका धेरैजसो अस्पतालमा अहिले तरल अक्सिजनको ठूलो अभाव छ । जसका कारण कोरोनाका गम्भीर बिरामी मारमा परेका छन् ।
दिल्लीको जयपुर गोल्डेन अस्पतालमा हिजो अक्सिजनको कमीका कारण २० जना कोरोनाका बिरामीको मृत्यु भएको थियो । सरकारी र निजी अस्पतालहरू दुवैले अक्सिजनका लागि हारगुहार गरिरहेका छन् । देशभर संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा अस्पतालमा शय्याको पनि अभाव भइरहेको छ ।
मानिसहरूले संक्रमित आफन्त तथा साथीहरूका लागि अस्पतालमा शय्या, जीवनदायी औषधि, अक्सिजन र प्लाज्माका लागि याचना गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आपत्कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भरिएको समाचारमा उल्लेख छ ।
भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरिरहँदा आज तेस्रो दिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्